सन्तोषी रावल
बाजुरा, मङ्सिर १९ गते । बाजुरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गौमुल गाउँपालिका–३ माझपालीमा महिलामैत्री कार्यक्रमहरूको आयोजना गर्दै दिवस उत्कर्षपूर्वक मनाइएको छ । प्रविधिको सही उपयोगमार्फत् हिंसा अन्त्य गर्ने प्रतिज्ञासहित वडाले स्थानीय महिलालाई केन्द्रमा राखेर विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरेको हो ।
वडा अध्यक्ष गोरख बोहराका अनुसार गाउँका महिलामा आत्मविश्वास, कानुनी ज्ञान र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्य अभियानको मूल प्रेरणा हो । “हिंसाका प्रकार, अधिकार र कर्तव्यबारे महिलालाई जानकारी अभाव हुँदा समस्या झन् गम्भीर बन्थ्यो । यस्तो अभियानले उनीहरूलाई सक्षम बनाउँछ,” अध्यक्ष बोहराले बताउनुभयो ।
कार्यक्रममा सहभागी उपाध्यक्ष सीता थापाले पनि ग्रामीण महिलाले कानुनी उपाय, मुद्दा प्रक्रियाबारे थोरै जानकारी मात्र पाउने भएकाले यस्ता पहल अत्यावश्यक रहेको बताउनुभयो । अभियानअन्तर्गत हाजिरी–जवाफ प्रतियोगिता, संवाद कार्यक्रम तथा चेतनामूलक देउडा प्रस्तुति राखेर महिलाको सक्रियता झनै बढाइएको थियो ।
प्रतियोगितामा माझपाली टोल प्रथम, बहेरी टोल दोस्रो र धल्काँडा टोल तेस्रो बने । विजयी टोलीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको र सहभागी महिलालाई सरसफाइ सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य कौशल विक, वडा सदस्य नर्मा विकलगायत स्थानीय सरोकारवाला तथा संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । ३ नम्बर वडा कार्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रम धनलक्ष्मी रोकायाले सञ्चालन गर्नुभएको थियो ।