• १९ मङ्सिर २०८२, शुक्रबार

‘युवाको चाहना पूरा गर्न लागौँ’

blog

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायत बिहीबार २२ औँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पुन्हीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : कविन अधिकारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १९ गते  । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताउनुभएको छ । निर्वाचन सफल बनाउन सबै नेपालीको सहभागिता र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो ।  

२२ औँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पुन्हीका अवसरमा बिहीबार काठमाडौँको वसन्तपुरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सरकारले आउँदो फागुन २१ गते आमनिर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो ।” भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै भएका घटनाबाट पाठ सिक्नु परेको चर्चा गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मुलुकका युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस, बास, कपासको सुनिश्चितताको माग गरेको छ । ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आआफ्नो ठाउँबाट लाग्न आवश्यक छ ।” 

ज्यापू दिवसले जातीय सद्भाव र एकताको सन्देश दिँदै आएको पनि उहाँले चर्चा गर्नुभयो । सबै जातजाति मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास सम्भव रहेको र ज्यापू समाजले संस्कृतिको विकासका लागि अथक प्रयास गरेकामा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । 

प्रधानमन्त्री कार्कीले यस दिवसले नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काएको चर्चा गर्दै भन्नुभयो, “उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापू समुदायको योगदान अतुलनीय छ ।” 

उहाँले संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिएको सन्दर्भमा हाम्रा मौलिक निधिहरूको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नागरिक बिच आपसमा सद्भाव, पुर्खाहरूको सम्मान र युवालाई प्रोत्साहन गर्न पनि यस्ता सांस्कृतिक अभियानहरूको आवश्यकता रहेको र सरकारबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रधानमन्त्रीले सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापू संस्कृति विकास कोषले दुई दशकभित्र निकै उपलब्धि हासिल गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “टोल टोलमा रहेका धार्मिक तथा सांस्कृतिक गुठीहरू काठमाडौँ उपत्यकाका सभ्यताका आधार हुन् । गुठी संस्कार यहाँको रैथाने समुदायको जीवन शैली हो ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवस तथा योमरी पुन्ही उत्पादन र माटोसँग जोडिएको सम्बन्ध रहेको बताउनुभयो ।