काठमाडौँ, मङ्सिर १८ गते । नेपाली लघुकथाको अध्ययन, विश्लेषण र समकालीन प्रवृत्तिमाथि केन्द्रित ‘विलोम’ लघुकथा अभ्यासको दसौँ श्रृङ्खला मंसिर १७ गते सम्पन्न भएको छ। यसपटकको अभ्यास आख्यानकार तथा कवि दिव्य गिरीसँग भएको हो।
नेपाली लघुकथाको विगत, वर्तमान र भविष्यका विविध आयाममा केन्द्रित यस अभ्यासमा गिरीसँग करिब तीन घण्टा लामो संवाद गरिएको थियो। कुराकानीमा साहित्य सिर्जनाको प्रेरणा, सिर्जनाका क्षेत्र, विधा विस्तार, लघुकथाको रूप, संरचना, समसामयिक प्रवृत्ति, विषयवस्तु, गुणस्तर तथा भविष्यसम्बन्धी धैरै आयाममा छलफल गरिएको आयोजकले जनाएको छ।
‘विलोम’ अभ्यास २०७९ साल फागुनबाट प्रारम्भ भएको हो। लघुकथाकार विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा सुरु गरिएको यो अभ्यास प्रत्येक चरणमा एक स्थापित स्रष्टासँग भेटघाट, वार्ता तथा लघुकथामूलक संवादमा आधारित रहँदै आएको छ।
यसअघि ‘विलोम’ अन्तर्गत अशेष मल्ल, कणाद महर्षि, ध्रुव मधिकर्मी, भागिरथी श्रेष्ठ, राजव, विधान आचार्य, पुष्कर लोहनी, महेश प्रसाईं र विवश पोखरेलसँग संवाद गरिइसकेको छ। ती वार्ताका अंशहरू कल्पतरू साहित्यिक द्वैमासिक पत्रिकामा ‘विलोम’ स्तम्भमार्फत प्रकाशित हुँदै आएका छन्।
हालका वर्षमा ‘विलोम’ लाई लघुकथा लेखनको एक पहिचान वा शैलीका रूपमा पनि स्वीकार गर्न थालिएको छ। यस शैलीमा लेखिने र प्रकाशित हुने लघुकथाको संख्या उल्लेख्य रूपमा बढेको साहित्यकारको भनाइ छ।