• १८ मङ्सिर २०८२, बिहिबार

एनपिएल : काठमान्डुद्वारा पोखरालाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य

blog

ब्याटिङ गर्दै काठमान्डुका भिम सार्की । तस्बिर : एनपिएल

काठमाडौँ, मङ्सिर १८ गते । बेन चार्ल्सवर्थ र भिम सार्की चम्किएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । 

काठमान्डुका लागि ओपनर बेन चार्ल्सवर्थले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन नबाउनुभएको हो ।

यस्तै भिम सार्कीले पनि ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।  उहाँले २३ बलमा पाँच चौका र चार छक्का हान्नुभयो ।  मिलिन्ड कुमारले १३ रन जोड्नुभयो । 

बलिङमा पोखराका धनञ्जय लक्ष्मणले चार विकेट लिनुभयो । कुशल भुर्तेलले दुई तथा किरण ठगुन्ना र विपिन कार्कीले एक एक विकेट लिनुभयो । 

यसअघि ६ खेलबाट आठ अङ्क बनाएको काठमान्डु आजको खेल जितेर प्लेअफ यात्रा सुरक्षित बनाउने तयारीमा छ । यस्तै पाँच खेलबाट चार अङ्क मात्र बनाएको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ ।

आजै अपरान्ह ४ बजे हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुनेछ ।