• १८ मङ्सिर २०८२, बिहिबार

फूगाउँबाट सातसय ९१ किलो जिम्बु निकासी

blog

बजारमा बेच्नका लागि बोरामा प्याक गरेर तयारी हालतमा राखिएको फूगाउँको बास्नादार जिम्बु । तस्बिरः यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, मङ्सिर १८ गते । मनाङको नार्पाभूमि गाउँपालिका –४ र ५ मा पर्ने फूगाउँका वन क्षेत्र तथा उच्च हिमाली खर्कहरूमा प्रशस्त मात्रामा बास्नादार जिम्बु पाइनेगरेको छ । 

हिमाली भूगोलमा मौसमी रूपमा उम्रने मूल्यवान् वन बस्तुको संकलन र निकासीमार्फत स्थानीय बासिन्दाले महत्वपूर्ण आर्थिक आम्दानी गर्दैआएका छन् । स्थानीयहरू अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई तोकिएको शुल्क तिरेर कानुनी व्यवस्थाअनुसार जिम्बु संकलन गर्छन् । 

संकलित जिम्बु मनाङ जिल्लाभित्र तथा बाहिरका बजारमा बिक्री गरिँदा स्थानीय रोजगारी, आर्थिक स्वावलम्बन र सामुदायिक जीवनस्तरमा सकारात्मक प्रभाव परेको छ । १ किलोमा सरदर ३ पाथी हुने र पाथीको १ हजारदेखि १२ सय रुपियाँमा बिक्री हुनेगरेको अन्नपूर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । 

फूगाउँमा मात्रै पाइने तथा फूगाउँका स्थानीयलाई जिम्मु संकलन गर्दा कुनै शुल्क नलाग्ने उहाँले बताउनुभयो । फूगाउँभन्दा बाहिरकालाई भने संकलन गर्न प्रतिव्यक्ति ५ हजार रुपियाँ शुल्क लिने गरिएको छ । जिम्मु संकलन गरेबापत १० रुपियाँ प्रतिकिलो राजस्व तिर्नुपर्ने हुन्छ । 

आर्थिक वर्ष २०८२–८३ मा मनाङको फूगाउँबाट जम्मा ७९१ किलोग्राम जिम्बु मनाङ जिल्लाबाहिर निकासीका लागि व्यवस्था मिलाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ । सो परिमाणको जिम्बु बिक्री तथा ढुवानीका लागि ७ जना निकासी व्यवसायीलाई आधिकारिक छोडपुर्जा उपलब्ध गराइएको छ ।

मसलाको रुपमा अत्यधिक प्रयोग हुने तथा पुरानो हिमलुङ बेसक्याम्प नजिक मात्र पाइने बास्नादार जिम्मुखेतीतर्फ गाउँपालिका लागिपरेको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोञ्जोतेन्जिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो पाँरे बस्तीको पारी जिम्मुखर्कमा मात्र उत्पादन हुन्छ । अरु ठाउँमा पनि अलि–अलि त उत्पादन हुन्छ तर बास्नादार हुँदैन । घमाइलो तथा बलौटे माटो र पहारिलो ठाउँमा मात्र उच्च गुणस्तरको बास्नादार जिम्मु उत्पादन हुन्छ ।’’

अध्यक्ष लामाले पुपी भन्ने ठाउँका चारसय वटा बाँझो खेतहरुमा जडीबुटी खेतीअन्तर्गत ‘जडीबुटी खेती आयोजना’ सञ्चालन गरिने बताउनुभयो । फूगाउँमा पाइने सुगन्धित जिम्मुलाई व्यावसायिक रुपमा खेती गरी किसानको आयआर्जन गर्न लागिपरेको उहाँको भनाइ छ ।

एक्यापका अनुसार जंगली वनस्पतिहरूको दिगो उपयोग, संरक्षण र स्थानीय स्वामित्वमा आधारित आर्थिक समृद्धिका लागि यस्तो नियमन अत्यावश्यक छ । जिम्बुको व्यावसायिक संकलनले स्थानीय आयआर्जन वृद्धिसँगै जैविक विविधताको संरक्षणमा पनि समुदायलाई सशक्त बनाएको छ । 

उच्च हिमाली क्षेत्र भएकाले वर्षमा निश्चित समय मात्र जिम्बु संकलन गर्न सकिने हुँदा त्यस अवधिमा स्थानीयहरू धेरै मेहनतसाथ उत्पादन संकलन गर्ने गर्छन् । पाकेपछि जिम्बुलाई सुकाएर राख्ने प्रचलन रहेको छ । हिमाली क्षेत्रको शुद्ध वातावरणका कारण यहाँको जिम्बु सुगन्धिलो, गुणस्तरीय र बजारमा बढी माग हुने गरेको व्यवसायीहरू बताउँछन् ।

स्थानीय सुनील गुरुङले संरक्षण क्षेत्रको नियमअनुसार काम गर्दा आय आर्जनसँगै प्राकृतिक स्रोत संरक्षणप्रति जनचेतना बढेको प्रतिक्रिया दिनुभएको छ । गुरुङले जिम्मुखेतीका लागि सहजीकरण र बजार विस्तार भए आफ्नो गाउँमा थप आर्थिक गतिविधि बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।