प्रतीक्षा आले
गोरखा, मङ्सिर १८ गते । उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो ।
चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेँडा पालन हुने गाउँ हो । यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर भेँडा गोरखा, धादिङ, लमजुङका बेँसीतिर लैजान थालिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताउनुभयो । “बुधार मात्रै ३०० जति भेँडा तल झारेका थिए । आज तीन जना गोठालाका ३४० वटा भेँडा एकैपटक लावालस्कर लाएर तल झारिरहेका छन्”, उहाँले भन्नुभयो, “गोठालाहरू कुकुरसहित टोली बनाएर हिँड्छन् । बाटोबाटो भेँडा बेच्दै गुजारा चलाउँदै वैशाख लागेपछि नबिकेका भेँडाको बथान लिएर गाउँ फर्कन्छन् ।”
पाङसिङका १५० घरधुरीमध्ये करिब ७० घरका किसानले भेँडाबाख्रा पालन गरेका वडा सदस्य गुरुङले जानकारी दिनुभयो । “भेँडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो । अहिले पाङसिङबाट तल झार्न थालिएको छ”, उहाँले भन्नुभयो, “यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दुधपोखरी हुँदै लमजुङतिर झारिन्छ । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने चलन छ ।”
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार ५०० भेँडा र आठ हजार ५०० बाख्रापालन गरिन्छ । त्यस्तै छ हजार ५०० याक तथा चौरी पालन हुँदै आएको केन्द्रका प्रमुख अनन्त कोइरालाले जानकारी दिनुभयो । लेकबाट बेँसी झार्ने पनि मौलिक परम्परा छ ।
“लेकको गोठबाट बेँसी झार्ने बेला राम्रो बार हेरेर सुरु गरिन्छ । लेकको गोठबाट पनि एकै दिनमा बेँसी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइपुर्याउँछन्”, पाङसिङका विकास गुरुङले भन्नुभयो, “गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजान चाँही विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।”
अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेँडा लैजान थालिएको उहाँले बताउनुभयो । “अहिले बेँसी झारिएका भेँडाबाख्रा आगामी जेठ दोस्रो साता उभौली लागेपछि लेकको गोठतिर पुर्याउन तालिन्छ”, उहाँले भन्नुभयो ।
“शरीरमा बाक्लो रौँ हुने भएकाले याक चाँही लेकमा छोड्छन् । पातलो रौँ हुने भएकाले चौँरी मात्र बेँसी झार्ने चलन छ”, चुमनुब्री–७ का वडाध्यक्ष टाँसी दोर्जे लामाले भन्नुभयो, “बेँसी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजाँदा पनि लामाले साइत हेरेर विधि पुर्याएपछि लैजाने चलन छ ।”
भेँडाबाख्रा पालन गर्ने किसान बढी भएकाले चुमनुब्री–३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागु गरिएको छ । “गोठालालाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, बस्न त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गरेका छौँ”, चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले भन्नुभयो, “गाउँपालिकाको ८० प्रतिशत र गोठालाको २० प्रतिशत लागत साझेदारीमा यो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।” पालिकाले किसानलाई प्रोत्साहन दिन कार्यक्रम सञ्चालन गरे पनि बर्सेनि भेँडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या घटिरहेको उहाँको भनाइ छ । रासस