अनिल पराजुली
हेटौँडा, मङ्सिर १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने सबै जातजातिको संस्कृति संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ । किराँत समुदायको महान् पर्व उँधौली, समस्त नेवार समुदायले मनाउने ज्यापु दिवस तथा यः मरि पुन्हिको उपलक्ष्यमा बिहीवार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री बानियाँका अनुसार यस्ता पर्वहरूले सामाजिक सद्भाव, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न प्रेरणा दिनेछन् । “पर्वले हाम्रो सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न हामी सबै एकताबद्ध भई अगाडि बढ्न प्रेरणा दिनेछ,” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
उहाँले बागमती प्रदेशमा बसोबास गर्ने किराँत समुदायले उँधौली पर्व मनाइरहँदा यसले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य–मान्यता बलियो बनाएको महसुस भएको बताउनुभयो । त्यस्तै, समस्त नेवार समुदायले मनाउने ज्यापु दिवस तथा यः मरि पुन्हि लगायतका पर्वले प्रदेशका विभिन्न समुदायका संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको पनि उल्लेख गर्नुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको देश भएको उल्लेख गर्दै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान भएको उल्लेख गर्दै विविध जातजाति र समुदायका मौलिक परम्पराहरू नै नेपालको सांस्कृतिक धरोहर भएको स्पष्ट पार्नुभयो ।
किराँत संस्कृति नेपालको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अवयव भएको उल्लेख गर्दै उहाँले उँधौली पर्वको सांस्कृतिक महत्त्वबारे प्रकाश पार्नुभयो । पितृ तथा प्रकृतिपूजक किराँत समुदाय—राई, लिम्बू, सुनुवार र याक्खाहरूले मानिस र जनावरहरू लेकबाट बेंसीतिर झर्ने समयमा पाकेको नयाँ अन्न पितृलाई चढाउने, भूमिको पूजा गर्ने तथा राम्रो फसलको कामना गर्ने परम्परा रहेको उहाँले बताउनुभयो । यस अवसरमा खुला आकाशमुनि ढोल–झ्याम्टा बजाएर चराचुरुङ्गी, जीवजन्तु तथा मानिसका गतिविधिको अनुकरण गर्दै सामूहिक रूपमा ‘साकेला’ नृत्य गर्ने प्रचलन छ ।