तिलाचन पाण्डे
तम्घास(गुल्मी), मङ्सिर १८ गते । गुल्मीमा खरले छाएको गोलो घर संरक्षण गर्ने योजना अधूरै रहेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका भित्र रहेको गोलो घरहरुलाई विगतका वर्षहरुदेखि नै संरक्षण गर्ने योजना भए पनि त्यसलाई कार्याान्वयन गर्नमा भने ढिलाइ भएको हो ।
ढुङ्गा माटोले गारो लगाउने र खरले छाएको उक्त घरमा चिसो समयमा न्यानो हुने र गर्मीको समयमा पनि अन्य घरको तुलनामा गर्मी नहुने बुढापाकाहरुले बताउँदै आएका छन् ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले विगतका वर्षहरुबाट नै गोलो घरको संरक्षण गर्ने योजना भए पनि कार्यान्वयन गर्न नसकिएकाले अहिले पूरा गरेरै छाड्ने दाबी गर्नुभयो । पालिकाबाट अहिले रकमान्तर गरेरै भए पनि खरले छाउन र संरक्षणका लागि बजेटको व्यवस्थापन गर्ने बताउनुभयो ।
यस्ता घरहरुलाई संरक्षण गर्नका लागि पालिकाले योजना बनाएको बताउनुभयो । अहिलेको अवस्थामा गोलो तथा घुमाउरो घरहरु बिरलै हुँने भएकाले पालिका भित्र रहेका करिब एक दर्जन घरहरुलाई संरक्षण गर्नका लागि पालिका लागेको बताउनुभयो ।
दुई नगर र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको जिल्लामा कालीगण्डकीमा मात्रै गोलो घर भएको हुन सक्ने भएकाले यसको संरक्षण गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । गोलो घर मात्रै नभई पुरानो इतिहास र संस्कृति पनि यस्ता घरहरुसङग जोडिएकाले संरक्षण गर्न र भावी पुस्तालाई सिकाउन पनि पालिका रहेको बताउनुभयो ।
जिल्लामा लोप हुँदै गएको उक्त घर कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ को हर्मिचौर र वडा नम्बर २ अर्वेनीमा बढीमा एक दर्जन मात्रै रहेका छन् । त्यी घरहरु भुकम्पको समयमासमेत सुरक्षित रहेको र त्यी घरहरु अहिले लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा यहाँका स्थानीय मदन पाण्डेले जोड दिनुभएको छ ।
अन्य घरहरु खरले छाउँनभन्दा यस घरलाई छाउनका लागि झण्डै दोब्बर बढी खर आवश्यक पर्ने उहाँले बताउनुभयो । एक पटक छाएपछि करिब पाँच वर्षसम्म पानी नचुहिने र चिसो र गर्मीबाट पनि अन्य घरको तुलनमा सुरक्षित रहेको पाण्डेले बताउनुभयो । २०७२ सालमा गएको भुकम्पमा पनि अन्य घरहरुमा ठुलो क्षति भए पनि गोलो घरहरु सुरक्षित रहेको उहाँको भनाइ छ ।
गोलो तथा घुमाउरो घर लोप हुँदै गएकाले त्यस्ता घरहरुलाई संरक्षण गर्नका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीय युवा तीलक रानाले बताउनुयो । पछिल्लो पुस्तालाई यस्ता घरहरु पनि पहिले हुन्थ्ये भन्ने सिकाउनका लागि पनि संरक्षणको आवश्यक रहेको उहाँको भनाइ छ ।