• १८ मङ्सिर २०८२, बिहिबार

आफन्त हराएपछि परिवारमा पीडा

blog

भारतमा हराउनुभएका दयाराम थारूकी श्रीमती गौरी र छोरी जानकी ।

टीकापुर समाचारदाता

टीकापुर, मङ्सिर १८ गते । १९ वर्षअघि परिवारको आर्थिक अवस्था सुधार्न भनेर भारतको हिमाञ्चल प्रदेशको सिमला जानुभएका टीकापुर नगरपालिका–७, सोनाहाफाँटाका हरिबहादुर सुनार अझै फर्किनुभएको छैन । 

भारत आउजाउ गरिरहने हरिबहादुर अन्तिम पटक छोरा नौ वर्षको हुँदा जानुभएको थियो । “म २० वर्षको भएपछि सिमला पुगेर बुवाले काम गरेको मालिक खोजँे, आठ वर्षदेखि सिजनमा गएर त्यहीँ काम गर्छुु,” हरिबहादुरका छोरा राजकुमार सुनार भन्नुहुन्छ “बुवा पाउने आशले खोजिरहेको छु भेटाउन सकेको छैन ।” राजकुमारकी बहिनी र आमा काकासँग बसिरहनुभएको छ । काम सकाएर हरिबहादुर घर फर्केको कुरा काम गर्ने ठाउँबाट थाहा पाएको बताउँदै उहाँले तर बुवा अझै फेला नपरेको छोरा राजकुमारले बताउनुभयो । 

जानकी गाउँपालिका–३, भगतपुरका कृपाशङ्कर डगौरा कामका लागि पाँच वर्षअघि भारतको जयपुर जानुभएको थियो । पछिल्ला दुई वर्ष परिवारको सम्पर्कमा नरहेका कृपाशङ्कर असोजमा आफन्त गएर खोज्दा अस्पतालमा मरेको र कसैले जलाइदिएको खबर पाएका थिए । “कुलदेवताले सताउन लाग्यो सल्लाह अनुसार दाहसंस्कार गर्न नपाए पनि काजकिरिया गरिदिऊँ भनेर काजकिरिया गरिदियौँ,” कृपाशङ्करकी भाउजू सपना चौधरीले भन्नुभयो, “मृत्यु दर्ता गर्न जाँदा वडाले प्रमाण माग्यो, भारतमा मरेकाले प्रमाण केही भएन ।”  कृपाशङ्करकी श्रीमती एउटा छोरी माइतीमा राखी छोरासँगै लिएर भारत जानुभएको छ । 

हरिबहादुर र कृपाशङ्कर जस्ता कैयौँ नेपाली भारतमा गएर हराउने क्रम जारी छ ।  जानकी गाउँपालिका–३, सुवर्णपुरका दयाराम थारू पनि भारतको पन्जाब सहर गएर सम्पर्कविहीन हुनु भएको छ । कात्तिक १८ गते धार्मिक कार्यका लागि त्यहाँ जानुभएका थारू भेटघाटपछि कात्तिक २७ गते घर फर्किन पन्जाबबाट अमृतसरको बस चढ्नुभएको थियो । “साथीले बस चढाएको भिडियो पठाइदिएका थिए,” दयारामकी श्रीमती गौरीदेवी थारूले भन्नुभयो, “टीकापुरमा कपाल काट्ने व्यवसायबाट कमाएको ४० हजार भारु लिएर गएका हुन्, आजकाल फेसबुक पनि बन्द छ, तर पनि उहाँ (दयाराम) आजसम्म आइपुग्नुभएको छैन ।”

यस्तै टीकापुर नगरपालिका–४, ठानापुरका खर्गबहादुर थारू २०८२ साउनमा स्याउ टिप्न सिमला जानुभएको थियो । काम सकेर कात्तिकको १९ गते नेपालको सीमावर्ती बजार वनवासाको गाडी चढ्नुभएको थियो । दुई दिनपछि घर पुग्छु भनेर फोन गर्नुभएको थियो आउनुभएन, सबैतिर आफन्त नातेदार सबैतिर खोजी गर्दा पनि पत्ता नलागेको खर्गबहादुरकी छोरी उजेन चौधरीले बाउनुभयो । आसाम, मिजोरमसम्म काम गर्न आउने जाने गर्नुहुन्थ्यो, फर्किंदा १० हजार भारु र मोबाइल थियो, कसैले केही खुवाएर लुटपाट ग¥यो कि ? बाटोमा लुटपाट हुने, हत्या भएका घटना सुनेकाले डर लागिरहेको उहाँले बताउनुभयो । रोजगारीका लागि भारत जाने नेपाली लुटिने, मृत्यु हुने, हराउनेलगायतका धेरै समस्या छन् । रोजगारी व्यवस्थित नहुँदा धेरै समस्या भइरहेको छ । 

“रोजगारीका लागि अन्य देश जाने नेपाली नागरिकको सुरक्षा गर्नु नेपाल सरकारको दायित्व हो,” थारू समुदायका बरघर दिनेश थारू भन्नुहुन्छ, “नेपाली नागरिक बेवारिसे वा मरेको जे जस्तो अवस्थाको भए पनि नेपाललाई बुझाइदिने व्यवस्था मात्रै भए पनि उनीहरूका परिवारले बर्सौं अन्योलको जीवन बाँच्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने थियो ।” नेपालको सरकारी निकायसँग कति नागरिक भारतमा छन् भन्ने कुनै तथ्याङ्क भेटिँदैन । जनगणना २०७२ को तथ्याङ्क अनुसार सुदूरपश्चिमबाट तीन लाख ४३ हजार ५२३ जना अनुपस्थित छन् । यसमध्ये रोजगारीका लागि दुई लाख ५२ हजार ४४९ जना बाहिरिएका छन् जसमध्ये ठुलो सङ्ख्या भारतमा छन् ।