• १८ मङ्सिर २०८२, बिहिबार

गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा सूचीकृत, १५४ कर्मचारी प्रत्यक्ष लाभान्वित हुने

blog

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी समझदारी पत्र आदानप्रदान गर्नुहुँदै । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १८ गते । गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको छ । गोरखापत्र संस्थानका प्रवक्ता तारा बस्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषमा संस्थान सूचीकृत भएको जानकारी दिनुभयो ।

कोषका उप कार्यकारी निर्देशक बिवेक पन्थीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा गोरखापत्र संस्थानलाई सूचीकृत गरी रोजगारदाता सूचीकरण प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।

यही मङ्सिर १० गते संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको अध्यक्षतामा बसेको संस्थान सञ्चालक समिति बैठकको निर्णय अनुसार सामाजिक सुरक्षा कोषसँग आबद्ध हुने समझदारी भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा गत बिहीबार आयोजित आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा गोरखापत्र संस्थान र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्र आदान प्रदान भएको थियो ।

समझदारी पत्रमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नुभएको थियो । 

संस्थानका अनुसार, यो निर्णय लागू भएपछि अस्थायी प्रकृतिमा कार्यरत पत्रकार तथा कर्मचारी गरी कम्तीमा १५४ जनाले प्रत्यक्ष रूपमा सामाजिक सुरक्षा सुविधाको लाभ पाउनेछन् । यसले संस्थानभित्र कार्यरत जनशक्तिको सुरक्षा, मर्यादा र दीर्घकालीन पेशागत स्थायित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।


यो पनि पढ्नुहोस

गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध