ढल्केबर समाचारदाता
ढल्केबर, मङ्सिर ६ गते । तराई क्षेत्रको पहिचान मानिने करिया कमोद धान लोप हुने अवस्थामा पुगेको छ । मसिनो, बास्नादार र स्वादिलो भएका कारण एक समय अत्यन्त लोकप्रिय यस जातको धान किसानले उत्पादन गर्न कम गरेपछि लोप हुने अवस्थामा पुगेको हो ।
अन्य धानको तुलनामा करिया कमोद धान उत्पादन गर्न पानी दोब्बर चाहिने हुन्छ । उत्पादन कम हुने र तयार हुन पनि लामो समय लाग्ने हुँदा किसानले यो जातको धान उत्पादन गर्न कम गरेको किसानको भनाइ छ ।
धनुषाको धनुषाधाम नगरपालिका नौ सय बिघाका किसान रामकिशोर यादवले कुनै समय यहाँका खेतमा करिया प्रमोद धानको हिस्सा ९० प्रतिशतसम्म हुने गरेको बताउनुभयो तर अहिले उत्पादन १० प्रतिशतमा झरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “अन्य धानको तुलनामा करिया कमोदमा धेरै पानी चाहिन्छ । पछिल्ला वर्षमा समयमा पानी नपर्ने, पर्याप्त वर्षा नहुने र अनियमित वर्षाका कारण किसान यो जातको धान उत्पादन गर्न छाडेका छन् ।” उहाँका अनुसार थोरै पानीमा र कम समयमा उत्पादन हुने उन्नत र हाइब्रिड जातका धान किसानले लगाउन थालेका छन् ।
सोही ठाउँका युवा गोविन्द यादवले पछिल्लो समय किसानका खेतमा कालो रङका धानका बाला झुकेको दृश्य बिरलै देखिने गरेको बताउनुभयो । यसका साटो बढी उत्पादन हुने, चाँडै तयार हुने र कम पानी चाहिने उन्नत तथा हाइब्रिड जातका धानले स्थान लिँदै गएको उहाँको भनाइ छ ।
उहाँका अनुसार करिया कमोद, श्याम जिरा र बासमती जस्ता मसिनो तथा बास्नादार चामलप्रति उपभोक्ताको रुचि अझै कायम छ तर किसानको रोजाइमा नपर्दा यो रैथाने जात लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
बास्नादार तथा स्वादिलो हुने भएकाले राजा महाराजा अर्थात् धनी व्यक्तिको रोजाइमा यो धानको चामल पर्दथ्यो । त्यस्तै चाडपर्व तथा पाहुनालाई यसै चामलको भात खुवाउने चलन थियो तर उत्पादनमा आएको कमीसँगै यो चलन पनि हराउँदै गएको यादवको भनाइ छ ।
ढल्केबरका स्थानीय चामल व्यापारी बद्री साहले बास्नादार तथा उच्च गुणस्तरका कारणले यी धानको बजार भाउ सधैँ उच्च रहने बताउनुभयो । साधारण चामल प्रतिक्विन्टल छ÷सात हजारमा पाइन्छ भने करिया कमोद चामल प्रतिक्विन्टल १५ हजार रुपियाँमा बिव्रmी हुने गरेको सुनाउनुभयो ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यव्रmम हर्दिनाथका सूचना अधिकारी रबेन्द्रप्रसाद साहले पहिलाको तुलनामा उत्पादन कम भए पनि करिया कमोद धान लोप हुने अवस्थामा भने नपुगेको बताउनुभयो ।