• २ मंसिर २०८२, मङ्गलबार

गुल्मी प्रशासनमा ८१ हतियार दर्ता

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, मङ्सिर २ गते ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा हालसम्म ८१ हतियार दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार हालसम्म यस जिल्लामा साना ठुला गरी कुल ८१ हतियार दर्ता भएका हुन् ।

विभिन्न समयमा यस जिल्लामा दर्ता भएका २८१ हातहतियारहरु मध्ये प्रहरीलाई बुझाएर लगतकट्टा गर्नुका साथै नामसारी र अन्य जिल्लामा स्थानान्तरण गरी अहिले सो सङ्ख्यामा यस जिल्लामा हतियार रहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८२–०८३ का लागि हालसम्म ७५ जनाले हतियार नवीकरण गर्नुभएको छ । बाँकी छ जनाले हतियार नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

हतियार राखेर नवीकरण नगरेमा दोब्बर दस्तुर लिनुका साथै त्योभन्दा बढि रकम विलम्ब शुल्क बुझाएर नवीकरण गर्न पाइने कानुनी प्रावधान रहेको छ । नवीकरण गर्ने कार्य जारी रहेको बताइएको छ । इजाजत पत्र नलिएका तथा इजाजत पत्र नभएका हातहतियार र पाँच वर्षभन्दा बढि अवधिसम्म नवीकरण नभएका हातहतियार गृह मन्त्रालयको निर्देशन बमोजिम प्रशासन कार्यालयले २०८१ वैशाखमा जफत गरेको थियो ।