नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर २ गते । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मङ्सिरको अन्तिम साता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङक बसेको बैठकले मङ्सिर २६ र २७ गते प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
खेलकुद विकास समिति र जिल्ला समन्वय समिति बागलुङ, जिल्लास्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख प्रतिनिधि सहितको बैठकले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिका—१ बाँगेचौर खेलमैदानमा गर्ने निर्णय गरेको हो ।
जिल्लास्तरीय प्रतियोगिताका लागि छिटो पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरी प्रतियोगिता विद्यार्थी खेलाडी पठाउन जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि सरकारले कुनै बजेट विनीयोजन नगरेकाले स्थानीय तहसँग सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले बताउनुभयो ।
‘‘जिल्लास्तरीय प्रतियोगिता गर्नका लागि प्रदेशले रकम पठाउन छोड्यो, हामीले स्थानीय पालिकासँगै सहयोग मागेर कार्यक्रम गर्दैछौं,’’ उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाबाट ४० हजार र नगरपालिकाबाट ६० हजारका दरले सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको कडेलले बताउनुभयो ।’’ यसवर्ष प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिता पनि बागलुङमा हुने बताइएको छ ।