• २ मंसिर २०८२, मङ्गलबार

सुम्सागाउँका एक सय ३२ घरमा धारा छ, पानी आउँदैन

blog

गलकोट (बागलुङ), मङ्सिर २ गते । विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइयो । कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका  एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे । तत्कालीन समयमा घरमै खानेपानीको धारा आउँदा खुसी बनेका सुम्सावासीको खुसी दुई वर्ष पनि टिकेन । लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा अहिले खानेपानीको हाहाकार छ । प्राविधिक गडबढी, बाढीपहिरो र चट्याङका कारण घरको धारामा पानी आउन नसकेको सुस्सावासीको भनाइ छ । घरको धारा हेरेर गाग्रीमा पानी बोक्नुपर्ने अवस्था सुम्सावासीको छ ।

लिफ्टमार्फत सम्पन्न खानेपानी आयोजना दिगो नहुँदा आँगनमा धारा हुँदासमेत खानेपानी बोक्नुपर्ने अवस्थामा पुगेको सुम्साका स्थानीय कोपिला थापाले बताउनुभयो । उहाँका अनुसार आँगनको धारामा असारयता पानी नआएको दुखेसो पोख्नुभयो । 

“सुम्सामा खानेपानीको समस्या आजको होइन, मुहान नहुँदा हिउँदमा त खानेपानीको चरम सङ्कट थियो, खानेपानीको मुहान नहुँदा नेवा र जैमिनी नगरपालिकाको सहयोगमा गाउँमुनिको कालीगण्डकी छेउबाट पानी ल्याएर धारामा खस्यो”, उहाँले भन्नुभयो, “लिफ्ट योजनाको भर नहुनेरहेछ, कहिले चट्याङले विद्युत्का उपकरण बिग्रन्छन् त कहिले पहिरोका कारण खानेपानीको पाइप बगाउँछ, पाँच महिना भयो धारामा खानेपानी आउँदैन, गाग्रीमा मानडाँडाबाट आएको मुहानको पानी बोक्छौँ, समस्या पहिलाको जस्तै भयो ।”

विसं २०७६ मा नेवा, जैमिनी नगरपालिका र स्थानीयको जनसहभागितामा रु ८३ लाख खर्चेर सम्पन्न गरिएको आयोजनामा पटकपटक समस्या आएपछि स्थानीय चिन्तित छन् । सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका सचिव लालमाया पुनले आयोजना सम्पन्न भइसकेपछि तीनपटक समस्या आइसकेको बताउनुभयो । 

उहाँले पहिराले मुहानको संरचना बगाएपछि बनाएको भए पनि पछिल्लो समय पहिराका कारण खानेपानीको पाइप बगाउँदा पुनः समस्या भएको बताउनुभयो । “आयोजना सम्पन्न नहुँदै मुहान बाढीले बगायो, पुनर्निर्माण गरेपछि खानेपानी आयो, पछि चट्याङका कारण ट्रान्समिटर जल्यो, अहिले पहिराले पाइप बगाएपछि खानेपानी आएको छैन, नगरपालिकाले समेत मर्मत गरेको थियो, तर लिफ्ट योजना दिगो नहुनेरहेछ”, पुनले भन्नुभयो ।

आयोजनामा समस्या आएपछि नगरपालिकाले रु चार लाख ६५ हजार खर्चेर मर्मत गरी चलाएको भए पनि अहिले पुनः समस्या भएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले जानकारी दिनुभयो । उहाँले विद्युत्को भोल्टेज अनियमित हुँदा उपकरणमा क्षति भएको बताउनुभयो । उहाँले विद्युत्मा एकरुपकता ल्याउन सबस्टेशन चाहिने रहेछ, त्यसका लागि पहल भइरहेको बताउनुभयो ।

सुम्सावासीले मानडाँडाको मुहानको पानी पालो पर्खेर गाग्रीमा बोकेर गुजारा चलाउँदै आएका छन् । लाखाँै खर्चेर बनाइएको योजना खेर जान नदिने नगरपालिकाको भनाइ छ । नगरपालिकाले आयोजनाको दिगोपनाका लागि काम गर्ने नगरप्रमुख पुनले बताउनुभयो । रासस