• २ मंसिर २०८२, मङ्गलबार

बर्दिवासका व्यापारी भण्डारी तेस्रो वर्ष पनि उत्कृष्ट करदाता सम्मान

blog

उत्कृष्ट करदाताको रुपमा सम्मानित हुँदै बर्दिबासका व्यापारी कुमार भण्डारी । तस्बिर : अजय शाह

अजय शाह
गौशाला (महोत्तरी), मङ्सिर २ गते ।
आन्तरिक राजस्व कार्यालय बर्दिवास महोत्तरीको वार्षिक मूल्याङ्कनमा बर्दिवासका व्यापारी कुमार भण्डारी लगातार तेस्रो वर्ष पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित हुनु भएको छ ।

१४ औँ राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा भण्डारीलाई महोत्तरी, सर्लाही र सिन्धुली तीनै जिल्लाबाट उत्कृष्ट कर दाखिलाकर्ता घोषित गर्दै आन्तरिक राजस्व कार्यालय बर्दिबास (महोत्तरी)का कार्यालय प्रमुख अमित पौडेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो ।

सम्मानित भण्डारी बर्दिबासमा गणेश ट्रान्सपोर्ट, रक्षा ट्रेडर्स र भण्डारी सप्लायर्ससहितका कम्पनीका सञ्चालक हुनुहुन्छ । भण्डारीले गत आर्थिक वर्ष २०८१/०८२ मा ७६ लाख ५५ हजार आयकर बुझाउनु भएको कार्यालयको अभिलेखले जनाएको छ । भण्डारी कार्यालयको कार्यक्षेत्रका सबैभन्दा बढि कर दाखिला गर्ने व्यवसायी बन्नु भएको छ । भण्डारीले सञ्चालन गर्नुभएका कम्पनीहरुमा ५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बर्दिबासमा नयाँ पुस्ताबिच लोकप्रिय रहेका भण्डारी सामाजिक गतिविधिमा सकृय रहँदै आउनु भएको छ । भण्डारी हाल बर्दिबास हेल्प फाउण्डेशन सामाजिक संस्थाको अध्यक्षसमेत हुनुहुन्छ । यो फाउण्डेशनले बर्दिबास नगरक्षेत्रका गरिब परिवारका ३३ जना छात्रछात्रालाई उच्च शिक्षाका लागि छात्रवृति प्रदान गरेको छ । आपदविपदमा सधैँ अग्रपङ्तिमा उभिएर सेवाभावले समर्पित रहने भण्डारीलाई बर्दिबासका युवा राजनीतिक जिम्मेवारीमा आउन दबाब बढाइ रहेका देखिन्छन् ।

समारोहमा बोल्ने वक्ताहरूले भण्डारीले पछिल्ला वर्षहरूमा देखाउँदै आएको समय मै कर चुक्ता गर्ने संस्कार, स्पष्ट लेखा–जोखा, वित्तीय पारदर्शिता र कर प्रणालीप्रति देखाएका दायित्वबोध आजका करदाताहरूमध्ये प्रेरणादायी उदाहरण रहेको उल्लेख गरेका थिए ।

आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरूका अनुसार भण्डारीले निरन्तर रूपमा कर सम्बन्धी दायित्व पूरा गर्दै आएको उदाहरणले स्थानीय विकास, सार्वजनिक सेवा विस्तार तथा राजस्व प्रणालीप्रति नागरिकको भरोसा बढाउन ठोस योगदान पुगेको छ ।

१४औँ राष्ट्रिय कर दिवसअन्तर्गत देशभर कर प्रणालीमा स्वेच्छिक अनुपालन, पारदर्शी कारोबार र समयमै कर बुझाउने करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न सम्मान तथा कार्यक्रमहरू आयोजना गरिएको थियो ।

यस्तै, बर्दिबासमा आयोजित समारोहमा उत्कृष्ट करदाताको योगदानले मात्र विकास र सेवा विस्तार सम्भव हुने भन्दै कर प्रशासन र करदाताबिचको विश्वासपूर्ण सहकार्य आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरिएको थियो ।

सम्मान ग्रहण पश्चात् भण्डारीले देशको विकास र कर प्रणाली सुदृढीकरणमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयो, “कर नागरिकको दायित्व मात्र होइन, देशको प्रगतिसँग प्रत्यक्ष जोडिएको योगदान हो । समयमै कर तिरेर पारदर्शी कारोबार गर्नु प्रत्येक व्यवसायीको जिम्मेवारी हो । निरन्तरको प्रोत्साहन र विश्वासका लागि म कर प्रशासनप्रति आभारी छु ।”

आन्तरिक राजस्व कार्यालय बर्दिबासले भण्डारी जस्ता जिम्मेवार करदाताको निरन्तर सहभागिताले जिल्लामा कर संस्कृति अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ । आगामी वर्षहरूमा कर शिक्षा, कर सजगता र कर प्रशासनको प्रविधिमैत्री सेवा विस्तारमार्फत सहज, पारदर्शी र सक्षम कर व्यवस्थापन निर्माण गर्ने लक्ष्य पनि कार्यालयले सार्वजनिक गरेको छ ।