गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २ गते । चलचित्र ‘दी ब्लु लाइट’ को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देखाइएको छ । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् ।
सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । पाँचै जना पात्र निराश देखिएका छन् । फरक यति हो, महेशको हातमा बन्चरो छ । अरूको हात रित्तो छ । पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोस्टर मौन छ । त्यसैले तनावमा मौनता साँधिरहेका सिनेमाका पाँच मुख्य पात्र भनेर भन्न सकिन्छ ।
चलचित्रको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुशमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी रहेका छन् भने बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् । बलिराम चौहानको निर्देशन रहेको ‘द ब्लु लाइट’ पुस १० गतेबाट प्रदर्शनमा आउँदै छ ।