• २ मंसिर २०८२, मङ्गलबार

विद्यार्थीलाई मयूरनाचको तालिम

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, मङ्सिर २ गते । जाजरकोटका शिक्षकले विद्यालयमा स्थानीय कला संस्कृति सिकाउन थालेका छन् । छेडागाड नगरपालिका–२, शङ्करस्थान माध्यमिक विद्यालय मजेरीका ८ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई मयूरनाच सिकाउन थालेका हुन् । 

स्थानीय कला संस्कृतिलाई लोप हुन नदिन विद्यार्थीलाई तालिम दिइएको हो । जाजरकोटका सात वटा स्थानीय तहमा पुराना कला संस्कृति लोप हुन थालेपछि युवापुस्तालाई हस्तान्तरण गर्न गाउँबस्तीका विद्यालयका शिक्षकले दिउँसो १ घण्टा शुक्रबार अतिरिक्त क्रियाकलापमा मयूरनाच सिकाउने गरेका छन् । विद्यालयका शिक्षक डिल्लीबहादुर खड्काले लोप हुन थालेको कला संस्कृतिलाई संरक्षण गर्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई फुर्सदको समयमा नाच सिकाउने गरेको बताउनुभयो ।

स्थानीय कला संस्कृतिलाई जोगाई राख्न पुर्खाले सिकेको सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्न विद्यालयमा शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म अतिरिक्त क्रियाकलाप अन्तर्गत मयूरनाच सिकाउने उहाँले बताउनुभयो । समुदायमा उक्त नाच विवाह, पूजाआजा, मेलापर्व र स्थानीय तहले सञ्चालन गरेका विभिन्न कार्यक्रममा प्रस्तुत गरिन्छ । विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सङ्गीता वलीले परम्परागत रूपमा पुर्खाले बचाएको कला संस्कृति संरक्षण युवापुस्ताले गर्नुपर्ने बेला आएकाले मयूरनाच सिक्न थालेको बताउनुभयो । ८ देखि १० कक्षासम्म अध्ययन गर्ने करिब २० जना छात्रछात्राले पुर्खाले सिकेको कला संस्कृति बचाउन पोसाकसहित फुर्सदको समयमा शिक्षकले सिकाउने गरेको उहाँले जनाउनुभयो ।