रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर २ गते । स्थानीय तहले सेवा प्रवाहलाई सहज रुपमा आमनागरिक समक्ष पुर्याउन निकै प्रयत्न गरेका छन् । नेपालको संविधानको मर्म अनुसार स्थानीय तहहरुले सेवा प्रवाह र विकास निर्माणका कार्यलाई नागरिक समक्ष पुर्याउन जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर लागेको पाइएको छ । सेवा प्रवाह र विकास निर्माणका कार्यलाई नागरिकसमक्ष पुर्याउन स्थानीय तहले वार्षिक कार्यक्रमसंगै योजना नै तयार गरेर लागेका छन् ।
गुल्मी जिल्लाका स्थानीय तहकाबाट एक वर्षमा विभिन्न शीर्षकमा ४७ हजारभन्दा बढि सेवा प्रवाह भएको पाइएको छ । यस जिल्लाका स्थानीय तहले नागरिकता सिफारिस, अपाङ्गता परिचयपत्र वितरण, राज्य सुविधा परिचयपत्र वितरण, व्यवसाय दर्ता, अन्य सिफारिस एवम् प्रमाणित लगायतका सेवा प्रवाह गरेका छन् । आव २०८१/०८२ मा दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ४७ हजार ७४७ सेवा प्रवाह भएको प्राप्त तथ्याङ्कमा उपलब्ध छ ।
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा तम्घासमा भएको वार्षिक समिक्षामा सो सङ्ख्यामा स्थानीय तहमा भएको सेवा प्रवाह प्रस्तुत गरिएको थियो । प्रस्तुत तथ्याङ्क अनुसार कालिगण्डकीमा एक हजार ९८५, सत्यवतीमा एक हजार ८६५, रुरुक्षेत्रमा छ हजार ४३१, चन्द्रकोटमा एक हजार २४१, छत्रकोटमा दुई हजार १२६, गुल्मीदरबारमा तीन हजार ७१४, रेसुङ्गामा तीन हजार ७४९, मुसिकोटमा दुई हजार ७०५, इस्मामा आठ हजार २२९, धुर्कोटमा एक हजार १४९, मालिकामा सात हजार ३५६ र मदानेमा सात हजार १९७ सेवा प्रवाह गरिएको तथ्याङ्कमा उल्लेख छ ।
सेवा प्रवाहलाई सहज र सरल ढङ्गबाट नागरिकमैत्री बनाउन निरन्तर लागेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काम गर्दै आएको बताउनुभयो । स्थानीय सरकारको सेवा प्रवाह नागरिकमैत्री हुन आवश्यक रहेको भन्दै नगरप्रमुख पन्थीले नगरपालिकाले आमनागरिकको हितमा हुने आफ्ना कार्यक्रमहरु निरन्तर अगाडि सारेको बताउनुभयो ।