• २ मंसिर २०८२, मङ्गलबार

तीन महिनामा पौने दुई अर्ब वैदेशिक लगानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा पौने दुई अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको तीन महिना (साउन–असोज) एक अर्ब ७४ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ८१ करोड रुपियाँ लगानी आएको थियो । गत आवको तुलनामा चालु आवको तीन महिनामा तीन अर्ब सात करोड रुपियाँ बराबरको वैदेशिक लगानीमा कमी आएको छ । 

सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरे पनि देशको राजनीति परिस्थितिले गर्दा वैदेशिक लगानीमा कमी आएको तथ्याङ्कले देखाएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको असरले मुलुकमा वैदेशिक लगानीमा समेत कमी आएको तथ्याङ्कले देखाएको छ । 

यस्तै तीन महिनाको अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब रहेको थियो । नेपालबाट बाहिरिने रकम बढे पनि वैदेशिक लगानीमा भने उल्लेख्य कमी आएको छ ।