• २ मंसिर २०८२, मङ्गलबार

गैरकर घटे पनि करमा सुधार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । गैरकर सङ्कलन १३ अर्ब रुपियाँले घटे पनि समग्र कर सङ्कलनमा सामान्य सुधार देखिएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) सम्मको राजस्व सङ्कलनसम्बन्धी विवरण अनुसार यो अवधिमा सरकारले सबै शीर्षकमा गरेर तीन खर्ब २९ अर्ब ५१ करोड रुपियाँ कर सङ्कलन गरेको छ । गत वर्षको सोही अवधिमा तीन खर्ब २९ अर्ब एक करोड रुपियाँ कर सङ्कलन भएको थियो । 

यस अवधिमा सरकारले गैरकरबापत १९ अर्ब ६५ करोड रुपियाँ आम्दानी गरेको छ । सरकारको प्राप्त गर्ने गैरकर व्यापक घटेको तथ्याङ्कले देखाउँछ । गत आवको सोही अवधिमा सरकारले ३३ अर्ब ३४ करोड रुपियाँ आम्दानी गरेको थियो ।

गैरकर सङ्कलनमा ठुलो गिरावट आए पनि कर राजस्वमा भएको वृद्धिले गत आवको तुलनामा कर सङ्कलन सामान्य भए पनि बढेको देखिन्छ । कर राजस्वमा भएको वृद्धिले आर्थिक गतिविधि बढेको बुझाउँछ । सरकारले जनतलाई उपलब्ध गराउने वस्तु तथा सेवाबापत लिने दस्तुर गैरकर अन्तर्गत पर्दछ । विभिन्न सरकारी निकायबाट सेवा लिँदा तिर्नुपर्ने दस्तुर तथा शुल्क, रोयल्टी, सरकारी सम्पत्ति बिक्री, साँवा फिर्ता, ब्याज, लाभांश गैरकरका उदाहरण हुन् ।  

कात्तिकमा मात्रै पनि राजस्व सङ्कलनमा केही सुधार देखिन्छ । मन्त्रालयका अनुसार कात्तिकमा मात्रै सरकारले ७८ अर्ब ३३ करोड रुपियाँ कर सङ्कलन गरेको छ । यो गत आवको कात्तिकको तुलनामा दुई अर्ब रुपियाँले बढी हो । 

गत कात्तिकमा ७६ अर्ब रुपियाँ कर सङ्कलन भएको थियो । सरकारले चालु आवको कात्तिकमा एक खर्ब तीन अर्ब रुपियाँ कर सङ्कलनको लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा कर सङ्कलन भने ७५.२४ प्रतिशत मात्र हुन आउँछ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै मूल्य अभिवृद्धि करबापत सरकारले एक खर्ब सात अर्ब रुपियाँ राजस्व आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ९८ अर्ब ७५ करोड रुपियाँ आयकर सङ्कलन भएको थियो । त्यसपछि भन्सार महसुलबापत ७४ अर्ब ५९ करोड  रुपियाँ कर सङ्कलन भएको छ । 

सरकारले भन्सार विन्दुमा आयातनिर्यातबापत तथा पूर्वाधार, कृषि सुधार, सडक मर्मत तथा सुधार, सडक निर्माण तथा सम्भारलगायत शीर्षकमा भन्सार महसुल सङ्कलन गर्छ । आयात वृद्धि हुँदा भन्सार महसुल बढ्ने गर्छ । गत आवको कात्तिकसम्म ६७ अर्ब ६० करोड रुपियाँ भन्सार महसुल सङ्कलन भएको थियो । 

समीक्षा अवधिमा सरकारले ६१ अर्ब १५ करोड रुपियाँ आयकर सङ्कलन गरेको छ । व्यक्ति तथा संस्थाले गर्ने आम्दानीमा सरकारले आयकर लिने गर्छ । यस्तो आयकर गत आवको तुलनामा भने घटेको छ । 

गत वर्ष कात्तिकसम्म ६६ अर्ब ९३ करोड रुपियाँ आयकर सङ्कलन भएको थियो । यो अवधिमा सरकारले ६२ अर्ब रुपियाँ अन्तःशुल्क उठाएको छ । रक्सी, चुरोट जस्ता हानिकारक वस्तुको आन्तरिक उत्पादन तथा आयातबापत यस्तो शुल्क उठाउने गरिन्छ । 

कात्तिकसम्म सरकारले राखेको कर सङ्कलनको लक्ष्यको तुलनामा यो करिब एक खर्ब रुपियाँले कम हो । चालु आवको कात्तिकसम्म सरकारले चार खर्ब २५ अर्ब २३ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । वार्षिक लक्ष्यको तुलनामा कात्तिकसम्मको सङ्कलन २२.२६ प्रतिशत हुन आउँछ ।