• २ मंसिर २०८२, मङ्गलबार

नेपाल ट्रस्ट जग्गा प्रकरण

पूर्वसचिव कार्कीलाई चार दिन म्याद थप

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर २ गते । काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा लगाउँदा राज्यलाई अर्बौंको नोक्सान पु¥याउने गरी सम्झौता गर्नेमध्येका मुख्य आरोपित ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्कीलाई ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरबारे अनुसन्धानका लागि आइतबार साँझ  नियन्त्रणमा लिएको थियो । सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप भई थप अनुसन्धान सुरु भएको छ । ट्रस्टको जग्गा व्यापारिक घराना ओम्नी समूह अन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई भाडामा दिन सम्झौता गर्दा ट्रस्टलाई दीर्घकालीन नोक्सानी पु¥याउने गरी मिलेमतोमा गरेको खुलेको छ । 

सिआइबीले सो जग्गा हिनामिना प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई गत कात्तिक २१ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सहसचिव कार्कीमाथि गरिएको अनुसन्धानका क्रममा तत्कालीन सचिव कार्कीको नै प्रत्यक्ष संलग्नता भेटिएपछि सिआइबीले नियन्त्रणमा लिएको थियो । तत्कालीन ट्रस्टका सचिव कार्कीसहितको समूह, बिचौलिया र राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका पदाधिकारीको मिलेमतोमा राज्यलाई अर्बौं नोक्सान हुने गरी करार सम्झौता गरेको र त्यसो गर्दा ठुलो आर्थिक लाभ लिएको आशङ्का छ । 

सिआइबी प्रवक्ता श्रेष्ठले उक्त करार सम्झौतामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिँदा बदनियत गरेको पाइएको जानकारी दिनुभयो । २०७४ जेठ १४ गते गरिएको करार सम्झौतामा ट्रस्टका सचिव रहनुभएका कार्कीसहितको मिलेमतोमा ट्रस्टलाई दीर्घकालीन नोक्सानी पु¥याउने थामसेर्कु ट्रेकिङ प्रालिसँग सभ्झौता गरिएको जनाइएको छ । सिआइबीले लाभग्राही, सहयोग गर्ने अधिकारी, सम्बद्ध रहेका विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिले गैरकानुनी रूपमा लाभ लिई ठगी, आपराधिक विश्वसघात गरेको पाइएको जनाएको छ । ट्रस्टको जग्गा अत्यन्तै कमसल मूल्यमा करार सम्झौता गर्दा ‘विल्ड अपरेट ट्रान्सफर’ अर्थात् निर्माण सम्पन्न गर्न तीन वर्ष र बाँकी ३० वर्ष गरी ३३ वर्षका लागि अवैध रूपमा भाडा सम्झौता गरिएको खुलेको छ ।