गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २ गते । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सडक पूर्वाधारतर्फका २५ वटा रुग्ण ठेक्का तोडिएका छन् । सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार २५ रुग्ण ठेक्का तोडिएको जनाएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौँका डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्मका लागि सम्झौता गरी अहिलेसम्म काम पूरा नगरेका २५ वटा रुग्ण ठेक्का सोमबारदेखि तोडिएको जानकारी दिनुभयो । उहाँका अनुसार ठेक्का तोडिएका निर्माण कम्पनीले कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापत राखेका रकम जफत गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ ।
सडक विभाग अन्तर्गत अझै २५८ ठेक्का रुग्ण छन् । सडक डिभिजन कार्यालय काठमाडौँबाट गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित सो २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको डिभिजन प्रमुख देवकोटाले स्पष्ट पार्नुभयो । कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौतीबापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले उल्लेख गर्नुभयो ।