गोरखापत्र समाचारदाता
भक्तपुर, मङ्सिर २ गते । भक्तपुर क्यान्सर अस्पतालले वार्षिक रूपमा पाठेघरको मुखको क्यान्सर लागेका करिब एक हजार जना बिरामीको उपचार गर्दै आएको छ । सरकारमातहत रहेको उक्त अस्पतालको तथ्याङ्कका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर भयावह अवस्थामा फैलिरहेको छ तर सचेतना अपनाइयो भने मात्र पनि यस्तो रोगबाट बच्न सकिन्छ ।
पाठेघरको मुखमा क्यान्सर भएका बिरामीलाई शल्यक्रिया, रेडियन प्रविधि र केमोथेरापी दिएर उपचार गर्ने गरिएको अस्पतालले जनाएको छ । “दैनिक पाँच/छ सय बिरामी आउने क्यान्सर अस्पतालमा वार्षिक एक हजार जना पाठेघरको मुखको क्यान्सर लागेर आउनु दुखद हो,” भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भन्नुभयो ।
अस्पतालले क्यान्सर लाग्नबाट लाखौँ महिलालाई बचाइरहेको दाबी गर्दै डा. चालिसेले स्वास्थ्य मन्त्रालयको पहलमा देशका विभिन्न जिल्लामा गएर पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गएको आर्थिक वर्ष मात्र १५ हजार महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका छौँ ।”
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरका रूपमा रहेको छ । हरेक वर्ष विश्वमा छ लाख ६० हजार महिलालाई पाठेघरको क्यान्सर हुने र करिब तीन लाख ५० हजार महिलाको मृत्यु हुने गरेको छ । नेपालमा क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर रहेको छ । पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाठेघरको मुखको क्यान्सरका कारण प्रतिदिन चार जना महिलाको मृत्यु हुने गरेको छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाले पाठेघरको मुखको क्यान्सर, रोकथाम र निवारणका लागि समयमा नै लाग्नुपर्ने बताउनुभयो । उहाँले सबैले आआफ्नो स्थानबाट क्यान्सर, रोकथाम र निवारणका लागि अहिलेदेखि नै कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यसैबिच विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस सोमबार अथात् १७ नोभेम्बरमा विश्वभर मनाइएको छ । यो वर्ष पहिलो पटक नेपालमा ‘आजैदेखि लागौँ : पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ दिवस मनाउन सुरु गरिएको हो ।