• २३ पुस २०८१, मङ्गलबार

विद्युत् उत्पादन सुरु

blog

हुम्ला, असार २२ गते । हालसम्म विद्युत् सेवा नपुगेको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएको छ । मिनी ग्रिड स्थापना भएको स्थानमा सोलार प्यानल जडानपछि विद्युत् उत्पादन भएको हो । 

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सो मिनी ग्रिडबाट ५० किलोवाट विद्युत् उत्पादन भएको बताउनुभयो । उहाँले विद्युत् उत्पादन भएर १७ भन्दा बढी घरधुरीलाई विद्युत् वितरण गरिएको र बाँकीलाई वितरण जारी राखिएको जनाउनुभयो । यसका लागि बाहिरबाट आवश्यक पर्ने निर्माण सामग्री र जडान गर्ने दक्ष कामदार निर्माणस्थलमा खटाइएको छ । 

उक्त मिनी ग्रिड निर्माण भएर सञ्चालनमा आएपछि यसअघि सोलार टुकीबाट बत्ती बाल्दै आएका बासिन्दाले पहिलो पटक विद्युत् उपभोग गर्न पाएका छन् । मिनी ग्रिडबाट उत्पादन भएको विद्युत्ले यारी गाउँका ६६ घरधुरीले उपभोग गर्नेछन् । गत भदौमा मिनी ग्रिड निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको र हिमपातका कारण बीचको समयमा काम रोकिएको थियो ।

यसका लागि गाउँपालिकाले २० प्रतिशत, उपभोक्ताबाट १० प्रतिशत र आयोजनाबाट ७०  प्रतिशत लागत साझेदारी गरी तीन करोडको लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।  यता नाम्खा गाउँपालिका–५ कै हिल्साको सो मिनी ग्रिडका लागि सामग्री लैजाने काम भइरहेको छ ।