• २७ कात्तिक २०८२, बिहिबार

बाँकेका ग्रामीण विद्यालयमा विद्युतीय दुर्घटनासम्बन्धी सचेतना कार्यक्रम

blog

नेपालगन्जस्थित विद्युत प्राधिकरणको वितरण केन्द्र कार्यालय । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक २७ गते । बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँघरमा विद्युत् प्रयोगका क्रममा अज्ञानता र असावधानीका कारण बढ्दो दुर्घटना जोखिमलाई ध्यानमा राख्दै आगामी मङ्सिर ७ गतेदेखि विद्यालयस्तरमा कार्यक्रम सुरु गर्न लागिएको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार पर्याप्त ज्ञानको अभावले विद्युतजन्य दुर्घटना हुने गरेको पाइएकाले विद्यालयस्तरमै सञ्चालन हुने कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीलाई विद्युत् जोखिम र त्यसको न्यूनीकरणका उपायबारे जानकारी प्रदान गर्नेछ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको आयोजनामा बाँकेका आठै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि विद्यालयहरूलाई वितरण केन्द्रको समन्वयमा सम्पर्क गर्न अनुरोध गरिएको वितरण केन्द्रका लेखा अधिकृत बुद्धिसागर भुषालले बताउनुभयो ।

उहाँले सो कार्यक्रममार्फत सहभागीहरूलाई विद्युतीय सुरक्षा, सम्भावित जोखिमका कारण, दुर्घटनापछि गर्नुपर्ने प्राथमिक उपचार, उपकरणको सुरक्षित प्रयोग तथा ऊर्जा खपतका उपायबारे प्रशिक्षण दिइने बताउनुभयो । 

नो लाइट शाखाका प्रमुख विष्णु खत्रीले ग्रामीण क्षेत्रमा यस्ता सचेतनामूलक कार्यक्रमहरु एकदमै कम हुने गरेको उल्लेख गर्दै यसले विद्युत् दुर्घटना घटाउन सहयोग पुर्‍याउने बताउनुभयो । उहाँका अनुसार, यो कार्यक्रमले विद्युत् चुहावट नियन्त्रण र सम्भावित दुर्घटना न्यूनीकरणमा पनि योगदान पुर्‍याउनेछ ।

नेपालगन्ज वितरण केन्द्रका अनुसार, निकट भविष्यमा नरैनापुरमा विद्युत् सबस्टेशन निर्माण हुने र जानकी गाउँपालिकामा १३२ केभीए प्रसारण लाइन निर्माण भइरहेकाले बाँकेका विद्यालयहरूमा सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

सचेतनाकै अभावका कारण बेला बेलामा बाँके जिल्लाका ग्रामीण क्षेत्रमा विशेष गरी विभिन्न प्रकारका विद्युत् सम्बन्धी घटना दुर्घटनाहरु हुने गरेका छन् ।