सुधा देव
सप्तरी, कात्तिक २७ गते । सप्तरीको राजविराज नगरपालिका १ डुमरीका एक शिक्षिकाले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विगत ७ वर्षदेखि निःशुल्क नियमित पठनपाठन गराउँदै आउनुभएको छ । राष्ट्रिय आधारभूत विद्यालय डुमरी शिवथानमा स्थानीय शिक्षिका सीमा यादवले ७ वर्षदेखि निःशुल्क नियमित पठनपाठन गर्दै आउनुभएको हो ।
२०६७ सालमा सोही विद्यालयमा अस्थायी दरबन्दीमा नियुक्ति पाएर शिक्षण पेसामा प्रवेश गर्नुभएकी उहाँले विद्यालयहरूमा कार्यरत अस्थायी शिक्षकलाई स्थायीका लागि लिएको परीक्षामा अनुत्तीर्ण भएपछि उहाँलाई २०७५ सालमा शिक्षण पेशाबाट हटाइएको थियोे ।
जागिर गए पनि शिक्षण पेशाप्रतिको मोह नगएकोले यो पेसालाई तलब बिनै निरन्तरता दिंदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, २०६७ सालमा यही विद्यालयमा नियुक्ति पाएर जागिर सुरू गरेदेखि अहिलेसम्म निरन्तर निःस्वार्थ रूपले लागिरहेकी छु । मलाई शिक्षण पेशा जस्तो आनन्द कुनै पेशामा लाग्दैन । फेरि आफ्नै समुदायका छरछिमेकका बालबालिकालाई पढाउन पाउँदा आत्मसन्तुष्टि हुँदोरहेछ ।
सुरूमा नियुक्ति पाएको बेला ११ हजारबाट सुरू भएको तलब शिक्षण पेसाबाट हटाउने बेलामा २४ हजार ७ सय भए पनि सात वर्षदेखि तलब बिना सेवाको भावनाले शिक्षण पेशा गर्दै आएको उहाँले बताउनुभयो ।
अस्थायी शिक्षकबाट हटाइए पनि ७ वर्ष देखि यस पेशामा नियमित काम गर्दै आउँदा अहिलेसम्म कतैबाट तलब भत्ता नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "श्रीमानको पनि जागि छैन । खेतीपातीबाट जसोतसो चार छोरीसहितको परिवार चलेको छ । आम्दानीको कुनै विकल्प छैन । तर मेरो मन यसै विद्यालयको शिक्षण पेसामा छ ।" कक्षमा पढाउन अन्य शिक्षक- शिक्षिका जस्तै आफ्नो दैनिक रूटिन भएको उहाँले बताउनुभयो । विद्यालयका अन्य शिक्षक झैँ समयमा आएर छुट्टी भएपछि मात्र फर्किने गरेको उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक धनीलाल साहले उहाँले यस विद्यालयलाई माया गरेको कारणले अन्य शिक्षक जस्तै स्वेच्छाले नियमित शिक्षण गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, "विद्यालयमा शिक्षकको आवश्यकता भएको बेला तलब नपाए पनि विद्यालयको पठनपाठनलाई निरन्तरता दिने इच्छाले नियमित पठनपाठन गर्दै आएपछि हामीलाई सहज भएको छ ।" तर पनि स्रोतको अभावले केही उपलब्ध गराउन नसकेको बताउनुभयो ।