श्रीनगर (भारत), कात्तिक २७ गते । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतङ्कवादी आक्रमण’ ठहर गरेको छ । यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन ।
सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको विस्फोटमा आठ जनाको मृत्यु र कैयौँ घाइते भएका थिए । अनुसन्धानका क्रममा बुधबार अधिकारीहरूले विवादित काश्मीर क्षेत्रका विभिन्न भागबाट केही सन्दिग्धलाई पक्राउ गरेको जनाएका छन् । भारत सरकारले मङ्गलबारदेखि नै यस घटनालाई सम्भावित आतङ्कवादी गतिविधि मानेर अनुसन्धान सुरु गरेको हो, जसअन्तर्गत अधिकारीहरूलाई व्यापक कानुनी अधिकार प्राप्त भएको छ ।
बुधबार राति मन्त्रिपरिषद्ले पारित गरेको प्रस्तावमा सो घटनालाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको जघन्य आतङ्ककारी कृत्य’ भनेर व्याख्या गरिएको छ । प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले देशलाई सम्बोधन गर्ने लालकिल्लालाई भारतीय गौरवको प्रतीक मानिन्छ । यो योजनाबद्ध आक्रमणको रूपमा पुष्टि भयो भने सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक विस्फोट हुनेछ ।
कश्मीरमा गिरफ्तारी र अनुसन्धान
पुलवामा जिल्लामा मङ्गलबार राति सञ्चालन गरिएको छापामारीमा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । विस्फोटको केही घण्टाअघि काश्मीरमा कार्यरत सुरक्षा निकायहरूले नयाँदिल्ली बाहिर फरीदाबादमा रहेको एक सन्दिग्ध आतङ्कवादी सेल ध्वस्त गरेको घोषणा गरेका थिए । त्यस क्रममा दुई चिकित्सकसहित सात जनालाई पक्राउ गरिएको र ठूलो मात्रामा विस्फोटक पदार्थ र हतियार बरामद गरिएको थियो ।
भारतीय सञ्चार माध्यमहरूले फरीदाबादको सो सेल र लालकिल्ला विस्फोटबीच सम्बन्ध हुन सक्ने आशङ्का प्रकट गरेका छन् । यद्यपि प्रहरीले आधिकारिक रूपमा कुनै पुष्टि गरेको छैन । प्रहरी अधिकारीहरूले नाम नखुलाउने सर्तमा बताएअनुसार श्रीनगर वरिपरि अक्टोबर १९ मा देखापरेका भारतविरोधी पोस्टरहरूको अनुसन्धानकै क्रममा सो सेलको सुराकी फेला परेको थियो । ती पोस्टरहरूले भारतीय सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्ने धम्की दिएका थिए ।
सिसिटिभी फुटेजको सहायताले प्रारम्भिक तीन सन्दिग्ध पहिचान गरिएका थिए । त्यसपछिका दिनहरूमा दुई काश्मीरी चिकित्सक र अन्य केही व्यक्तिलाई समेत पक्राउ गरिएको बताइएको छ । स्थानीय मिडियाले विस्फोट भएको कारको चालक पनि काश्मीरी भएको उल्लेख गरेका छन् ।
प्रहरीले फरीदाबादको मेडिकल कलेजमा अध्यापन गर्ने एक चिकित्सकले उक्त कार चलाइरहेका थिए कि थिएनन् भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ । केही रिपोर्टअनुसार उनले विस्फोटबाट बच्न जानाजानी बम विस्फोट गराएका हुन सक्छन् वा दुर्घटनावश विस्फोटक पदार्थ ओसार्दा घटना घटेको हुन सक्छ ।
दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धान टोलीले ‘आतङ्कवादी आक्रमण, आकस्मिक विस्फोट वा यान्त्रिक त्रुटि — सबै कोणबाट अनुसन्धान भइरहेको’ बताउनुभयो ।
पुलवामाकी शगुफ्ता जान नामक महिलाले आफ्नो चिकित्सक दाजु गत शुक्रबारदेखि सम्पर्कविहीन रहेको बताउँदै चिन्ता व्यक्त गर्नुभयो । “उहाँले हामीलाई फोन गरेर घर आउने बताउनुभएको थियो, तर त्यसपछि कुनै सम्पर्क भएन”, उहाँले भन्नुभयो । प्रहरीहरूले सोमबार राति उनका परिवारका सदस्यहरूलाई पनि सोधपुछका लागि लगेको जनाइएको छ ।
भारत–पाकिस्तान तनाव फेरि बढ्ने आशङ्का
यस घटनाले पुनः भारत र पाकिस्तानबीच तनाव चुलिन सक्ने चिन्ता बढाएको छ । भारतले लामो समयदेखि पाकिस्तानमाथि आफ्नो भूमिमा हुने आतङ्कवादी आक्रमणहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ । इस्लामाबादले भने यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ ।
यस वर्ष अप्रिलमा काश्मीरमा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो हिन्दू तीर्थयात्री थिए । नयाँदिल्लीले त्यस घटनाको दोष पाकिस्तानमाथि थोपरेको थियो, जसले त्यसपछि दुवै देशबीच सैन्य झडपको अवस्था सिर्जना गरेको थियो ।
भारत र पाकिस्तान दुवैले काश्मीरको आंशिक प्रशासन गर्छन्, तर दुवै देशले सम्पूर्ण क्षेत्रमाथि दाबी गर्दछन् । सन् १९८९ देखि काश्मीरी विद्रोहीहरू भारतको नियन्त्रणविरुद्ध लडिरहेका छन् । भारतले यो सङ्घर्षलाई पाकिस्तानद्वारा प्रायोजित आतङ्कवाद मानेको छ भने पाकिस्तानले यसलाई काश्मीरी जनताको स्वतन्त्रता सङ्घर्ष’ को रूपमा व्याख्या गरेकाे छ ।
नयाँदिल्लीले विगतमा पनि ठूला आतङ्कवादी आक्रमणहरू भोगिसकेको छ । सन् १९९६ मा लाजपत नगर बजारमा भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु भएको थियो भने २००८ मा समन्वित विस्फोटहरूमा २० जनाको ज्यान गएको थियो । ती घटनामा पनि काश्मीरी उग्रवादी समूह र एक भारतीय इस्लामिक विद्यार्थी सङ्गठनमाथि संलग्नताको आरोप लगाइएको थियो ।
नयाँदिल्लीको हालको कार विस्फोटले राजधानीको सुरक्षामा प्रश्न उठाएको मात्र नभई काश्मीर विवाद र भारत–पाकिस्तान सम्बन्धमा पुनः अशान्ति निम्त्याउने सङ्केत पनि देखिएको छ । रासस/एपी