• २७ कात्तिक २०८२, बिहिबार

लमजुङमा एमाले महाधिवेशन प्रतिनिधि छानिन रस्साकस्सी

blog

नेकपा (एमाले) लमजुङको कार्यालय । तस्बिर : नवीनाराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, कात्तिक २७ गते । मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानिन लमजुङमा रस्साकस्सी पर्ने भएको छ। सदस्यताको आधारमा लमजुङबाट नौ जना मात्र प्रतिनिधि छानिनुपर्ने भएपछि नेताहरूबिच रस्सकस्सी पर्न लागेको हो ।  

छनोट हुने प्रतिनिधिमा खुल्लाबाट ४ जना, महिलाबाट ३ जना, ४० वर्ष मुनिबाट र दलितबाट १-१ जनागरी नौ जना प्रतिनिधि छनोट हुने भएका हुन् । प्रनिनिधि छनोटका लागि मङ्सिर १० गते इच्छुकहरूले मनोनयन गर्ने र १२ गतेसम्म सर्वसम्वत नभए १३ गते मतदान गर्ने तालिका सार्वजनिक गरिएको छ ।

लमजुङबाट केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष टुका हमाल, पार्टीका केन्द्रीय सदस्य जमीन्द्रमान घले, केन्द्रीय कार्यालय सचिव डा.भीष्मनाथ अधिकारी, केन्द्रीय कल्पना थापा, केन्द्रीय अनुशासन समितिका सदस्य मायानाथ अधिकारी स्वतः महाधिवशेन प्रतिनिधि हुनुहुन्छ । यसैगरी लमजुङ भुगोल रहनुभएका गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे पनि प्रतिनिधि बन्दै हुनुहुन्छ । 

लमजुङबाट छानिनु पर्ने नौ जना प्रतिनिधिमा सकेसम्म सर्वसम्मतबाट छनोट गर्ने, त्यसो हुन नसकेमा सङ्गठित सदस्यहरूबाट मतदानमार्फत छनोट गर्ने तयारी गरिएको नेकपा एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधि छानिन धेरै जनाले आकाङ्क्षा देखाएकाले सर्वसम्मत गराउन कठिन देखिएको नेताहरूले बताएका छन् । 

खुला ४ जनाका लागि २० जना, महिला ३ जनाका लागि १२ जना, ४० वर्ष मुनिबाट एक जनामा ५ जना र दलित एक जनामा ६ जनाले इच्छा जाहेर गरेको चर्चा एमालेभित्र छ । यद्यपि उम्मेदवारी मनोनयनको दिनसम्म कति जनाले उम्मेदवारी दिन्छन् त्यो थाहा पाउन भने १० गतेसम्म पर्खनै पर्ने छ । 

महाधिवेशनमा २ हजार १ सय २७ प्रतिनिधि सहभागी हुँदै छन् । केन्द्रीय कमिटीका ३५४ जना, अनुशासन आयोगबाट २९, केन्द्रीय लेखा आयोगका ३०, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट २५–२५ जना प्रतिनिधि हुने छन् । यस्तै, महाधिवेशनका लागि करिब ९०० जना प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सहभागी हुने छन् ।