• २५ कात्तिक २०८२, मङ्गलबार

गुर्जा गाउँको शिरमा चम्किँदै गुर्जा हिमाल

blog

गुर्जा गाउँको शिरमा रहेको गुर्जा हिमाल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
गुर्जा, कात्तिक २५ गते ।
गुर्जा गाउँको शिरमा छ गुर्जा हिमाल । दुईहप्ता अघि परेको हिमपातका कारण गुर्जा हिमाल सेताम्मे भएको छ । गुर्जा हिमालको सुन्दरताले पर्यटकलाई यतिखेर लोभ्याइरहेको छ । गुर्जा हिमालको उचाई सात हजार एक सय ९३ मिटर छ ।

गुर्जा गाउँदेखि एक घण्टाको पदयात्रा पछि गुर्जा हिमालको दृश्य अवलोकन गर्ने स्थानमा पुगिन्छ भने आधार शिविरमा पुग्न पाँच घण्टा लाग्छ । गुर्जा हिमाल अहिलेसम्म कसैले आरोहण गर्न सकेका छैनन् । विदेशी पर्यटकहरु आधार शिविर सम्म पुगेर फर्किन्छन् ।

गुर्जा हिमाल धौलागिरि हिमश्रृङ्खलाको दक्षिण पश्चिममा पर्दछ । गुर्जामा गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल र चुरेन हिमाल पर्दछन् । २०६५ देखि गुर्जा हिमाल आरोहणका लागि खुला गरिएको भए पनि अहिलेसम्म आरोहण सफल हुनसकेको छैन ।

सात वर्ष अघि गुर्जा हिमाल आरोहण गर्न गएको दक्षिण कोरियाली टोली दुर्घटनामा परेको थियो । त्यसबेला स्वदेशी र विदेशी गरी आठ जनाले ज्यान गुमाएका थिए ।  


गुर्जा हिमाल आरोहण गर्न निकै चुनौती छ धवलागिरी गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भन्नुभयो, ‘‘जापानीज,जर्मनी र कोरियाली समुहबाट यस अघि विभिन्न समयमा तीन पटक आरोहणको प्रयास भए पनि सफल हुन सकेन । गुर्जा हिमालमा प्रतिकूल मौसम भइरहने र आरोहणका लागि अफ्ठ्यारो भएकाले आरोहण सफल भएको छैन ।’’

गुर्जाको भ्रमणमा आएका पर्यटकहरु गाउँदेखि माथिको डाँडामा पुगेर गुर्जा हिमालको अवलोकन गर्ने गरेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । गुर्जा हिमालको आँखे अगाडि अवलोकन गर्न पाउँदा आनन्दको अनुभूति भएको गुर्जाको भ्रमणमा आउनुभएको चन्द्रकला दाहालले बताउनुभयो ।

गुर्जा हिमाल साच्चिकै मनोरम रहेछ पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ का सुवाष रेग्मीले भन्नुभयो, ‘‘गुर्जा आइपुग्न जति कठिन भएपनि गुर्जा हिमाल हेर्दा स्वर्गको अनुभूति भयो ।’’  

गुर्जामा गुर्जाका साथै गुर्जा पश्चिम छ हजार ४६५ मिटर, चुरेन सात हजार ३७१ मिटर, पुथा सात हजार २६१ र म्याग्दीमाथा सात हजार मिटरभन्दा अग्लो छ । गुर्जा जान बेनीदेखि सवारीसाधनको पाँच घण्टाको यात्रा र त्यतिनै बराबरको पैदलयात्रा पछि गुर्जा पुग्न सकिन्छ । गुर्जा गाउँमा छन्त्याल र विश्वकर्माहरुको बसोबास रहेको छ ।