• ८ मंसिर २०८१, शनिबार

अर्थतन्त्र सुधार्ने मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २० गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताउनुभएको छ । आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएकोे हो । उहाँले पछिल्लो समय अर्थतन्त्रका प्राय सबै सूचकमा दबाब रहेको बताउनुभयो । 

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मलाई कताकता लाग्छ हामी यस्तो बेला परिएछ संसार भरका अर्थशास्त्रीले निकालेका सिद्धान्तहरुका प्रयोग यतिबेला नै गर्न पाइने जस्तो भइरहेको छ । व्यवहारिक हिसावले त्यो अवस्था छ । सबैले अर्थतन्त्रका सबै सूचकको विषयमा जानकारी नै हुनुहुन्छ । उद्योग व्यवसायमा लाग्ने साथीहरुले दबाब र सहज दुवै महशुस गर्नुभएको छ । हामी मौद्रिक नीतिको तयारीमा छौं । मौद्रिक नीति असारको अन्त्यमा ल्याउँछौं नसके साउन महिनाको पहिलो साता ल्याउने तयारीमा छौं । मौद्रिक नीति सकेसम्म अहिले अर्थतन्त्रमा परेको प्रभावलाई निकास दिनेगरी कसरी ल्याउन सकिन्छ भन्ने हिसावले ल्याउने तयारी छ । मौद्रिक नीतिले करको विषयमा केही गर्दैन ।’

गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरु बढ्दै जाने अवस्था भइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताउनु भयो । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपियाँ ‘आउट फ्लो’ भएको बताउनुभयो । 

गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गर्नुभयो । उहाँले मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको  बताउनुभयो । गभर्नर अधिकारीले अहिलेको बैंकिङ तरलता कम गर्न राष्ट्र बैंकले झन्डै ११२/१३ अर्बको रिफाइनान्स, झन्डै २५० को एससेलएफ सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले हाम्रो अर्थतन्त्रमा सेभिङमा कमजोर हुँदै जाने, खर्चहरु बढ्दै जाने अवस्था छ । व्यक्तिगत र समाजको खर्च गर्ने आनीबानीको सवालमा पनि सकारात्मक बदलाव आएको छैन । त्यसले आयातमुखी अर्थतन्त्र बनाएको छ । त्यसले गर्दा आयातमुखी अर्थतन्त्र रहेको र त्यसको असर स्वरुप हामीलाई वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढीरहेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएको, आयात निरन्तर बढेको अवस्था छ । निर्यातले नधानेको अवस्था छ । रेमिटेन्स बढेको भए पनि आयातले नधानेको अवस्था छ ।’

गभर्नर अधिकारीले बैंकहरुमा १० लाख भन्दा बढी रकम जम्मा गर्न हुँदैन भन्ने उद्योगी व्यवसायी र बैंकर्सहरु समेत दुविधामा रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंक र बैंकहरुले त्यस्तो नीति नल्याएकाले १० लाख भन्दा बढी पैसा राख्नहुन्न भन्न नमिल्ने बताउनु भयो । गभर्नर अधिकारी बैंकले टिटिआर रिपोर्ट अर्थात बैंकको ग्राहकले एक दिनमा १० लाख पैसा जम्मा ग¥यो भन्नको लागि कारण खुलाउनुपर्ने बताउनु भयो । उहाँले अहिले १० लाख रुपियाँ भन्दा बढी पैसा बैंकमा जम्मा गर्नहुन्न भनेर ९ लाख ९९ हजार रुपियाँ तीन पटकसम्म गरेर जम्मा गर्ने अभ्यास कसैले नगर्न आग्रह गर्नुभयो ।

गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरु अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा शतर्क रहनुपर्ने भन्दै उद्योग खोलेर,अरुलाई रोजगारी र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताउनु भयो । उहाँले अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर ल्याउँछु भन्ने सोच्न नहुने उल्लेख गर्नुभयो ।