कोकिला ढकाल
इलाम, कात्तिक १७ गते । आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतदाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार गएको असोज ८ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या इलाममा दुुईलाख २७ हजार तीन छ । यीमध्ये पुरुष मतदाताको सङ्ख्या एक लाख १७ हजार ४३ र एक लाख ९ हजार ९५८ छ । असोज ९ गते पछाडि पनि नयाँ मतदाताको रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बातउनुभयो।
नयाँ मतदाताका रुपमा अहिले सम्ममा २९७ जनाले फोटो खिचाएका छन् । यीमध्ये नेपालको नागरिकता बनाएर फोटो खिचाउन आएका कोही १६ वर्ष उमेर पुुगेका मात्र पनि छन् भने कोही १८ वर्ष पूरा भएका छन् । ‘अब फागुन २० गतेसम्म जो–जो १८ वर्ष पूरा गर्छन् उनीहरुको नाम माथिबाटै मतदाता नामावलीमा आउँछ ।’ लिम्बूले भन्नुभयो ‘अझै आगामी कार्तिक ३० गतेसम्म फोटो खिचाउने समय बाँकी छ ।’
लिम्बूका अनुसार अहिले जिल्ला अन्तर,पालिका अन्तर पनि मतदाता नामावलीको नामसारीको काम पनि भइरहेको छ । ‘कोही इलामबाट अन्य जिल्लामा जानेछन् भने कोही अन्य जिल्लाबाट इलाम आउने पनि छन्,’ लिम्बूले भन्नुभयो, ‘जिल्लाभित्रका पालिकाबाट पनि नामसारीको लागि आउने धेरै छन् ।’ अहिलेसम्म ११९ जना मतदाताको नामसारीको काम भएको लिम्बूले जानकारी दिनुुभयो । यस्तै ६६ जना मृत्यु भएका मतदाताको नाम भने मतदाता नामावलीबाट हटाइएको छ ।