डडेल्धुरा, कात्तिक १७ गते । पर्यटकिय क्षेत्रका रुपमा भौतिक संरचना निर्माण गरी अलपत्र अवस्थामा रहेको प्राकृतिक डाडो कस्या टाकुरो क्षेत्रमा नागरिक स्तरबाट सरसफाई गरिएको छ । करिब आधा करोड खर्च गरी अलपत्र अवस्थामा रहेको कस्या टाकुरो क्षेत्रमा यहाँका ईसाई धर्मामलम्बी जवानहरुले सरसफाई गरेका छन ।
कस्या टाकुरो जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ पोखरा बजारभन्दा माथिको अग्लो डाडो हो । यहाँबाट जिल्ला सदमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाको अधिकांस भु–भागसँगै महाभारत पर्वत श्रृङ्खलालगायत डोटी, आछाम, बैतडी र भारतको उत्तराखण्डका विभिन्न स्थानको नांगो आखाले मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।
“हरेक दिन, फुर्सद निकालौ एक छिन” भन्ने नारासहित सरसफाई अभियान सञ्चालन गरिएको ईसाई जवान गणेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कस्या टाकुरो क्षेत्रमा गरिएको मानविय फोहोर र झारपात सङ्कलन गरी जलाइएको छ । परमप्रभु परमेश्वरले मानिसलाई अदानको बगैँचामा लानुभई त्यसको गोगाड र हेरचाह गर्न राख्नुभयो । उत्पत्ति २ः१५ पबित्र बाईबलमा उल्लेख महाव वाक्यको अनुसरण गर्दै सरसफाई अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
प्लाष्टिक जन्य र प्राकृतिक रुपमा पलाएको झाडीको सरसफाई गरिएको र अब कस्या डाडोमा प्रवेश गर्ने बाटोमा निर्माण गरिएको फलामे गेटमा रङ रोगन गरिने श्रेष्ठले बताउनुभयो । कस्या टाकुरो क्षेत्रलाई प्राकृति दृश्यवलोकनका लागि उड्यानका रुपमा विकास गर्न अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा पहिलो पटक ७२ लाख रुपियाँ बराबरको बोलपत्र आह्वान गरी केही पक्कि सिंढी, पर्खाल र रेलिंग लगाइएको थियो । त्यस अघि उपभोक्ता समिति मार्फत नगरपालिकाले नै ५० हजार रुपियाँ खर्च गरि बाटोको खाका निर्माण गरेको थियो ।
त्यस यता कस्या टाकुरो क्षेत्र अलपत्र छ । निर्माण गरिएका भौतिक पूर्वाधारका संरचना जिणए बन्दै गएका छन् । अवलोकन कर्ताहरु यहाँसम्म पुग्ने गरेपनि सडक क्षेत्रमा पार्किंग, डाडो क्षेत्रमा बस्न, थकान मेट्न टहरा, चमेना गृह तथा शौचालय नहुदा हैरानी खेप्नु परेको स्थानीय दिपकराज भट्टराईले बताउनुभयो ।
सदरमुकामभन्दा १२ किलो मिटर उत्तर तर्फ महाकाली राजमार्गसँगै जोडिएको कस्या डाँडोलाई धार्मिक एवम् दृश्यावलोकन र बनभोज स्थलका रुपमा विकसित गर्न भौतिक पूर्वाधारको काम गरिए पनि २०७८ यता निर्माण गरिएका भौतिक पूर्वाधारहरु जिर्ण बन्दै गएका छन् ।
कस्या डाँडो समुद्रि सतहदेखि ६ हजार ५ सय फिटभन्दा बढी उचाईमा रहेको छ । सदरमुकाममा रहेको ऐतिहांसिक ढुंगे अमरगढी किल्लाको उचाई समुन्द्री सतहदेखि ६ हजार ५ फिट मात्रै रहेको छ भने कस्या डाँडो माथिबाट अमरगढी किल्लालगायत अन्य थुप्रै स्थानको दृश्य देखिने भएकोले योभन्दा बढी नै उचाई भएको मान्न सकिन्छ ।
डडेल्धुरामा जिवित सताब्दियौ पुराना धार्मिक तथा ऐतिहासिक स्थानका रुपमा अजयमेरु कोट, अमरगढी किल्ला, उग्रतारा मन्दिर आदीलाई लिइने गरेको छ । प्राचिन कालमा कस्या टाकुरोमा राजकोट नै रहेको स्थानिय केशव भण्डारीको भनाइ छ ।
टाकुरोमा भौतिक पूर्वाधार निर्माणका क्रममा ढुङ्गाको एउटा ओखल, एउटा सिलाउटो र माटोको गांग्राको एउटा टुक्रा भेटिएको थियो । यसले पनि यहाँ कुनै कालखण्डमा मानव वस्ति रहेको हुनसक्ने उहाँले बताउनुभयो । ईतिहास केलाई यथार्थ जानकारी गराउने गरी अभिलेख राख्न सके एवम् दृश्यावलोकनको क्षेत्रका रुपमा सम्बद्र्धन गरी प्रबद्र्धन गर्न सके कस्या डाँडोलाई पर्यटकिय क्षेत्रका रुपमा विकसित गर्न सकिने उहाँको भनाई छ ।
डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको बोल्याबाँझ मोडबाट कस्या टाकुरोमा पुग्न करिब १५ मिनेटको पैदल उकालो चढ्नु पर्छ । भौतिक पूर्वाधारका संरचना निर्माण भए पछि बिहान सूर्याेदय र बेलुकी सूर्यास्तको दृश्य मनमोहक हुने भएकाले अवलोकनकर्ताको सङ्ख्यामा वृद्धि हुँदै गएको थियो । तर पछिल्ला वर्षहरुमा आवश्यक अन्य भौतिक पूर्वाधारका संरचना निर्माण हुन नसक्दा अवलोकन गर्नेहरु घट्दै गएका छन भने निर्माण गरिएका भौतिक पूर्वाधारका संरचनाहरु जीर्ण हुँदै गएको उहाँको भनाइ छ ।