गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटले आयोजना गरेको ‘यात्रा ट्याटु प्रदर्शनी कला कार्यशाला’ आइतबार सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालमा पनि ट्याटु कलाको पुरानो इतिहास रहेको बताउँदै यस्ता कार्यलाई आगामी दिनमा अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कार्यशाला तथा प्रदर्शनीले प्रभावकारी सन्देश दिएको बताउँदै यससँग सम्बन्धित नेपालका रैथाने ज्ञान तथा कलालाई संरक्षण तथा प्रवर्धन गर्न यस्ता प्रदर्शनीले सहयोग पु¥याउने बताउनुभयो । बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले प्रदर्शनीले देशविदेशका कलाकारलाई एकै स्थानमा भेला भएर एकअर्काको कला देखाउने र सिक्ने अवसर प्रदान गरेको बताउनुभयो ।
हिमालयन ट्याटु समिटका निर्देशक बृजेश श्रेष्ठले सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै कार्यक्रम उपलब्धिमूलक भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । पृथ्वी श्रेष्ठ क्युरेटर रहनुभएको प्रदर्शनीमा नेपालका ७२ कलाकार र सिङ्गापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्विटजरल्यान्ड, ग्रिस, मलेसिया र अस्ट्रियाका गरी २६ कलाकारका सिर्जना समावेश गरिएको थियो । प्रदर्शनी तथा कला कार्यशालामा क्यानभास, उडकट, मूर्तिकला, कार्टुन/क्यारिकेचर विधाका कलाकृति राखिएको थियो ।