गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १७ गते । नेपाल औषधी आयातकर्ता सङ्घले विदेशबाट आयातित औषधीको मूल्य नबढेको प्रस्ट पारेको छ ।
सञ्चार माध्यमले आयातित औषधीका विषयमा भ्रम उत्पन्न गरेको भन्दै त्यसरी जथाभाबी मूल्यवृद्धि गर्न नमिल्ने बताएको छ । औषधी व्यवस्था विभागले जथाभाबी मूल्यवृद्धि नगरेको दाबी गरेको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आयातित औषधीको मूल्यवृद्धि नगरेको बताउनुभयो । उहाँले विभागले हालसम्म ११७ प्रकारका औषधीको मात्र अधिकतम मूल्य निर्धारण गरिएको जानकारी गराउनुभयो । औषधी आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले नेपालमा करिब ३५० विदेशी उद्योगका औषधी १२५ आयातकर्ताले मात्रै आयात र वितरण गर्दै आइरहेको बताउनुभयो । उहाँले औषधी दर्ता कार्यविधि, २०७३ र औषधी दर्ता नियमावली, २०३८ अनुसार दर्ता हुने प्रत्येक औषधीको अधिकतम खुद्रा मूल्य स्पष्ट उल्लेख गरिने भन्दै आयातित औषधी उत्पादकले आफ्नो देशको सम्बन्धित निकायबाट अनुमतिप्राप्त गरेको खुद्रा मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गर्न नपाइने बताउनुभयो ।