• १७ कात्तिक २०८२, सोमबार

मतदान केन्द्रबारे बागलुङमा छलफल

blog

बागलुङ बजारस्थित जिल्ला निर्वाचनको कार्यालय । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक १६ गते । जिल्ला निर्वाचन कार्यालयले आसन्न फागुन २१ गतेको लागि निर्वाचनको तयारी थालेको छ । पहिलो चरणमा कार्यालयले जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग छलफल थालेको हो । 

आइतबार भएको छलफलमा निर्वाचनका लागि मतदान केन्द्रबारे छलफल गरेको हो । गत निर्वाचनको केन्द्रहरुको बारेमा वर्तमान अवस्था कस्तो छ ? थपघट गर्ने वा ती स्थानको सुरक्षा व्यवस्थापन कस्तो हुने भन्ने बिषयमा छलफल भएको सहभागीले बताउनुभयो । 

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । यो निर्वाचनलाई व्यवस्थित बनाउन सुरक्षाको ग्यारेन्टी चाहिने सरोकारवालाको भनाइ छ । राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि समेतलाई बैठकमा बोलाइएको थियो । 

कार्यालयले भने बैठकबारे बिस्तृत विवरण दिएको छैन । यो पहिलो चरणको छलफल भएकाले विस्तृत विवरणपछि उपलब्ध गराउने कार्यालय प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो । हाल कार्यालयले मतदाता नामावली भने सार्वजनिक समेत गरेको छ । 

कार्यालयका अनुसार बागलुङमा महिला ९७ हजार २ सय ९३ र पुरुष ९२ हजार २ सय ८३ गरी १ लाख ८९ हजार ५ सय ७६ मतदाता रहेको जनाइएको छ ।