• १७ कात्तिक २०८२, सोमबार

लोकमार्ग कालोपत्रेको माग गर्दै ध्यानाकर्षण

blog

स्थानीयले जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई मध्यपहाडी लोकमार्गबारेमा ध्यानाकर्षण गराउँदै। तस्बिरः नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), कात्तिक १६ गते । मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँखण्ड नौ वर्षसम्म कालोपत्रे नभएपछि स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका –५ र ६ का स्थानीयले आज जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।  

काठेखोला गाउँपालिका –५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडा अध्यक्ष वृहस्पती कँडेलको नेतृत्वमा जिल्ला प्रशासन आएको स्थानीयले मध्यपहाडी लोकमार्गले तत्कालै काम सुरु नगरे मंसिर १ गतेबाट लोकमार्गको बागलुङको बिहुँखण्ड बन्द गर्ने चेतावनी दिएका छन् ।

आर्थिक वर्ष २०७२–७३ सालमा दुई वर्षमा सक्नुपर्ने काम पाँच पटक म्याद थप्दा समेत निर्माण सम्पन्न नभएपछि गतवर्ष ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको थियो । नयाँ ठेकदारले समेत जम्मा १२ प्रतिशत मात्रै  भौतिक प्रगति गरेपछि स्थानीयहरु सडक बन्दको चेतावनीसहित जिल्ला प्रशासन कार्यालयमा आएर चार बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए ।

धुलोका कारण सास्ती खेप्नु परेको, वर्षौदेखि सडक अलपत्र परेको र तत्काल कालोपत्रको काम नथाले आन्दोलनमा उत्रेको जनाएको छ । मंसिरसम्म जिल्ला प्रशासन कार्यालयसहित मध्यपहाडी लोकमार्ग र निर्माण व्यवसायीबिच बैठक बसेर काम थाल्न लगाउने प्रजिअ गुरुङले स्थानीयलाई आश्वासन दिनुभएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको सबै सडक कालोपत्र सकिँदा बिहुँखण्डको १२ किमी सडक अझै कालोपत्र भएको छैन ।  

बिहुँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक सात आठ वर्ष वित्दा समेत कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ–रिजाल भगवती जेभीसँग सम्झौता गरिएको थियो ।