राममणि दाहाल
मकवानपुर, कात्तिक १६ गते । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–८ स्थित राजपानी टोलको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा –८ को कमानेका आयुष बस्नेतको गए राति मृत्यु भएको हो ।
कालिका मन्दिरबाट कमानेतर्फ जाँदैगरेको बा.प्र.०६–००२ प ४८६२ नं. को मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएपछि मोटरसाइकल चालक २४ वर्षीय बस्नेतलाई अचेत घाइते अवस्था उद्धार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
बस्नेतलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा डाक्टरले जाँच गर्नेक्रममा शनिबार राति ६ः३४ बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ । यस्तै, मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका –४ पानधुरेमा शनिबार राति १०ः३० बजे मोटरसाइकल दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।
पानधुरेबाट हात्तीसुँडेतर्फ आउँदैगरेको बा.प्र.०२–०३८ प ८११४ न.को मोटरसाइकलले सोही स्थान बस्ने पैदलयात्री बद्री गौतमलाई ठक्कर दिएको हो ।
मोटरसाइकल चालक सोही स्थान बस्ने वर्ष २५ को फुर्साङ घलान र मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने १७ को आकाश भोलनसमेत घाइते भएका छन् । गौतम र घलानको शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर रहेको र भोलनको अवस्था सामान्य रहेको रहेको प्रहरीले जनाएको छ ।
भोलन मकवानपुर सहकारी अस्पताल हेटौँडामा उपचारपछि घर फर्कनुभएको छ । घलान र गौतमलाई थप उपचारका लागि आइतबार नयाँ मेडिकल कलेज चितवनमा पठाइएको छ ।
यसैगरी फाखले–हुमाने–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका ४ महालक्ष्मी खोलामा काठमाडौँबाट हेटौँडतर्फ आउँदै गरेको वा.प्र.०६–००१ ज ०५२८ न.को विद्युतीय गाडी गएराति ९ः१५ बजेको समयमा चिप्लियर सडकबाट करिब २० देखि २२ मिटर तल खसी दुर्घटना हुँदा गाडीका चालकसहित तीन जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार रौतहटको परवाहा नगरपालिका ५ का वर्ष २१–२२ का प्रवेश अन्सारी, २२ वर्षीय मुसाद आलम र पहिचना नखुलेका एक व्यक्ति दुर्घटनामा घाइते भएका हुन् । अन्सारी र आलमको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।