• १६ कात्तिक २०८२, आइतबार

‘सकेसम्म आज दाउन्नेको सडक प्रयोग नगर्नु’

blog

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड । तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, कात्तिक १६ गते । बिहानैदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड सञ्चालनमा ल्याउन समस्या भएको प्रहरीले बताएको छ । लगातार चार दिनदेखि परेको पानीले सडक चिप्लो भएर गाडी गुड्न नसक्दा समस्या भएको दुम्किवास प्रहरी चौकीका इन्चार्ज, प्रहरी निरीक्षक थम्मनसिंह रानाले बताउनुभयो ।

‘‘हामी अहिले पनि सडक सञ्चालन गर्ने प्रयासमा जुटिरहेका छौं, तर हिलो बाटोमा गाडीहरु चिप्लेर उकालो उक्लिन नसकेको र ठाउँ–ठाउँमा गाडीहरु पनि फसिरहेकाले समस्या भएको छ’’ प्रहरी निरीक्षक रानाले भन्नुभयो, ‘‘बाटोको अवस्था बिजोग छ, तर पनि हामी खुलाउने प्रयास गरिरहेका छौं ।’’

हिलोमा फसेका सवारी साधनलाई जेसीबीले तानेर पास गराउने काम भइरहेको उहाँको भनाइ छ । बिहानदेखि सवारी साधन उकालो र हिलोमा फसेका कारण सयौं गाडीजाममा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । लगातारको झरीका कारण दाउन्ने सडकखण्ड पार गर्न घण्टौं लाग्ने गरेको यात्रुको गुनासो छ ।

यसैबिच नारायणघाट–बुटबल सडक आयोजनाले सकेसम्म आज यो मार्ग भएर यात्रा नगर्न सबैसित अनुरोध गरेको छ । वर्षाका कारण बाटो चिप्लो भएर ठाउँ–ठाउँमा गाडी फस्दा समस्या भएको र गाडीको जाम लामो रहेको भन्दै सडक आयोजनाले सूचना जारी गर्दै सकेसम्म आज दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।