• १६ कात्तिक २०८२, आइतबार

मेक्सिकोको सुपरमार्केटमा विस्फोट : २३ जनाको निधन

blog

विस्फोटको साङ्केतिक फाइल तस्बिर ।

मेक्सिको सिटी,  कात्तिक १६ गते । मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । 

स्थानीय अधिकारीहरूका अनुसार विस्फोटका कारण सम्भवतः त्रुटिपूर्ण विद्युतीय ट्रान्सफर्मर रहेको प्राथमिक अनुसन्धानले देखाएको छ ।

सोनोरा राज्यका गभर्नर अल्फोन्सो दुराजोले भिडियो सन्देशमार्फत भन्नुभयो, “दुःखको कुरा, धेरै पीडितहरू नाबालिग छन्, घाइतेहरूलाई हर्मोसिलो सहरका अस्पतालमा उपचारका लागि लगिएको छ ।”

गभर्नर दुराजोले घटनाको वास्तविक कारण पत्ता लगाउन तथा जिम्मेवार व्यक्तिहरूको पहिचानका लागि विस्तृत र पारदर्शी अनुसन्धानको आदेश दिनुभएको छ । अभियोजक कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “घटना आकस्मिक भएको प्रारम्भिक धारणा छ र अनुसन्धान पसलभित्र रहेको ट्रान्सफर्मरमाथि केन्द्रित गरिएको छ ।”

विस्फोट सहरको केन्द्रमा रहेको ‘वाल्डो’ सुपरमार्केटमा दिउँसो करिब २ बजेतिर (२० ०० जिएमटी) भएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विस्फोटपछि पसलभित्र रहेका केही ग्राहकहरू भाग्न नपाई आगोको लप्कामा फसेका थिए । सार्वजनिक भएका तस्बिरहरूमा भवनको अगाडिको भाग कालो देखिएको र झ्यालहरू फुटेका थिए ।

गभर्नर दुराजोले भन्नुभयो, “कसैले पनि यो पीडाको सामना एक्लै गर्नुपर्ने छैन । पहिलो क्षणदेखि नै आपतकालीन, सुरक्षा र स्वास्थ्य निकायहरूले उच्च व्यावसायिकता र प्रतिबद्धताका साथ कार्य गरे, परिस्थितिलाई नियन्त्रणमा लिए र धेरै जीवनहरू बचाए ।”

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्समार्फत मृतकका परिवारजन र प्रियजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “म सोनोराका गभर्नरसँग सम्पर्कमा छु र गृह सचिव रोजा इसेला रोड्रिगेजलाई प्रभावित परिवार र घाइतेहरूलाई सहयोगका लागि सहायता टोली पठाउन निर्देशन दिएकी छु ।”

स्थानीय अधिकारीहरूले नागरिकहरूलाई विस्फोट क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । सो अवसरमा आयोजना हुन लागेको मृतकको दिन (डे अफ द डेड) सम्बन्धी उत्सव पनि स्थगित गरिएको छ ।

अखबार एल युनिभर्सलका अनुसार नजिकका व्यवसायहरूले आगो फैलिन नदिन आफ्ना ढोका बन्द गरेका थिए । अनुसन्धानकर्ताहरूले भवनमा प्रवेश अनुमति पाएपछि घटनाको ठ्याक्कै कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ । एएफपी