• ७ जेठ २०८१, सोमबार

घरैमा सामाजिक सुरक्षा भत्ता

blog

कालीकोट, असार २० गते । सान्नीत्रिवेणी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले आइतबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिले पाउने गरेका छन् । पालिकाले कर्मचारी परिचालन गरेर वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।

सान्नीत्रिवेणी गाउँपालिका–१ की ६९ वर्षीया गौरा सुवेदीले चुनावी प्रतिबद्धतासमेत सामाजिक सुरक्षाभत्ता घरघरमै बाँड्ने भएको बताउनुभयो । वडा नम्बर १ की ७४ वर्षीया पूराधी न्यौपानेले पहिला बैङ्कमा गएर भत्ता निकाल्न पाँच दिन लाग्ने गरेको बताउनुभयो । गाउँमै भत्ता पाउन थालेपछि घरमै सरकार आएको अनुभव भएको उहाँले सुनाउनुभयो ।भत्ता वितरणका लागि गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह (सञ्ज्याल) आफँै बस्तीमा पुग्नुभएको छ । उहाँका साथमा सानिमा बैङ्कका कर्मचारी पनि छन् । 

गाउँपालिकाले सबैको भत्ता बैङ्कमा जम्मा गरी बैङ्कका कर्मचारीसँगै लिएर सेवाग्राहीबाट चेक लिने र नगद भुक्तानी दिने गरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने परिवारहरू आर्थिक र सामाजिक हिसाबले समाजका अन्य वर्गभन्दा कमजोर छन् । त्यसैले बस्तीमै पुगेर भत्ता वितरण गरेको उपाध्यक्ष सिंहले बताउनुभयो ।

मासिक चार हजार भत्ता बुझ्नका लागि दुई दिन पैदल हिँडेर जानुपर्ने, बैङ्कमा नेट नचल्दा हप्ता दिनसम्म बस्नुपर्ने अवस्था थियो । हिँड्न नसक्ने वृद्धवृद्धालाई घरका छोराछोरीले बोकेर बैङ्कसम्म पु-याउनुपर्ने बाध्यता थियोे तर अहिले यो समस्या हटेको छ । यसअघि पनि गाउँपालिकाले वडा नं. ७, ८ र ९ मा बस्तीमै पुगेर भत्ता वितरण गरिसकेको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो ।