चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १५ गते। ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा रहेको सिद्धिडाँडा पर्यटकको पर्खाइमा छ। सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र सिद्धिडाँडा पर्यटकको पर्खाइमा रहेको हो।
जिल्लास्थित प्रमुख पर्यटकीय गन्तव्य विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा, प्रसिद्ध तीर्थस्थल पाथीभरासँगै नर्या पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको सिँजेमा ताल, ढङढङ्गे झरना हुन्। त्यस्तै फुङफुङ्गे झरना, तिम्बुङ पोखरी, तोक्पेगोला लोदेन क्षेत्र, मिल्के जलजले यहाँका पर्यटकीय गन्तव्य हुन्।
जिल्लाका थुप्रै पर्यटकीय स्थल तथा गन्तव्यमध्ये प्रचुर सम्भावना बोकेको फुङ्लिङ बजार नजिक रहेको सिद्धिडाँडा क्षेत्र पनि एक आकर्षक पर्यटकीय स्थल हो। फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित सिद्धिडाँडाको आकर्षणले पर्यटकलाई लोभ्याउने गर्दछ। फुङ्लिङ बजारदेखि साढे दुई किलोमिटर दूरीमा रहेको सिद्धिडाँडामा नागपोखरी, महादेवको मन्दिर, गुरुङ गुम्बाजस्ता संरचना तथा स्थल छन्।
सो क्षेत्रमा रहेको हरियाली अलैँची बगान (बगैँचा), नागपोखरी परिसरमा विभिन्न संरचनासहित निर्मित सौन्दर्यीकरणले सिद्धिडाँडाको आकर्षण छुट्टै बनेको छ। सिद्धिडाँडालाई दिगो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पोखरी र आसपासका क्षेत्रलाई सौन्दर्यीकरण गर्न सुरु गरिएको हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो। वडाध्यक्ष गुरुङका अनुसार आकर्षक सौन्दर्यीकरणसँगै सिद्धिडाँडामा धार्मिक सहिष्णुता झल्काउने संरचनासमेत निर्माण गरिएका छन्। सौन्दर्यीकरण अन्तर्गतका अन्य संरचनाहरु क्रमशः निर्माण गर्दै लैजाने योजना रहेको पनि वडाध्यक्ष गुरुङको भनाइ छ।
एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा रहेको सिद्धिडाँडामा हाल न्युन आन्तरिक पर्यटक मात्र पुग्ने गरेका छन् भने विस्तारै सिद्धिडाँडा आन्तरिक पर्यटकहरुको रोजाइमा पर्दै गएको छ। यद्यपि, अपेक्षा गरेअनुसार भने पर्यटकको उपस्थिति हुन नसकेको वडाध्यक्ष गुरुङ बताउनुहुन्छ। उहाँले सिद्धिडाँडाको पर्याप्त प्रचारप्रसार पनि हुन नसकेको बताउनुभयो। यसरी हरियाली, सुन्दर र शान्त वातावरणसहितको आकर्षक पर्यटकीय स्थल सिद्धिडाँडा पर्यटकको पर्खाइमा छ।