गुणबहादुर रोका
सुलीकोट, कात्तिक १५ गते । उत्तरी गोरखाको साम्दोमा हिमपातले आवागमनमा समस्या भएपछि सशस्त्र प्रहरी बलको टोलीले हिउँ पन्छाउने कामलाई तीव्र पारेको छ ।
साम्दोमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) अन्तर्गतको टोलीले मनास्लु पदमार्ग हुँदै लार्केपास जाने बाटोमा हिउँ पन्छाउँदै पदमार्ग आवागमनमा सहज बनाउने अभियान तीव्र पारेको हो ।
गत सातादेखि उत्तरी गोरखामा निरन्तर परेको हिमपातका कारण साम्दो आसपासको पदमार्ग ढाकिएर स्थानीय र पर्यटक दुबै प्रभावित भएका थिए । बिषेषगरी साम्दो हुदै लार्केपासतर्फ जाने विदेशी तथा आन्तरिक पर्यटकको यात्रा अबरुद्ध भएपछि सशस्त्र प्रहरीको टोली सक्रिय भएर हिउँ पन्छाउने काममा लागेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
उत्तरी गोरखाको मौसममा अलिकति सुधार भएपछि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले शनिबार बिहानदेखि हिउँ हटाउने कार्य गर्दै स्थानीयलाई समेत सहयोग गरिरहेको बताइएको छ ।
मनास्लु पदमार्गको यो अति संवेदनशील क्षेत्र चीनसँगको सिमानामा अवस्थित छ । सुरक्षासँंगै विपद् व्यवस्थापन र उद्धारमा पनि सशस्त्र प्रहरीको उपस्थितिलाई स्थानीयहरुले उच्च प्रशंसा गर्ने गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।
अध्यक्ष लामाका अनुसार केही दिनदेखि परेको हिमपातले थुनिएका पदमार्गहरु, बिद्यालयमा पुग्ने बाटोमा अत्यधिक मात्रामा हिउँ परेपछि त्यसलाई खुलाएर सुचारु गरिनुका साथै व्यापारी तथा पदयात्रीको यात्रा सहज बनाएको छ ।
साम्दो क्षेत्रको उच्च हिमाली भुभागमा पर्ने भएकाले हिमपात पछिको यस्ता चुनौती सामान्य हुने गरे पनि यस पटकको एक सातासम्म निरन्तर रुपमा परेको हिमपातले झण्डै ८ फिट हिमपात हुँदा साम्दोका नागरिकहरु भित्रबाट बाहिर निस्कने अवस्था नहुनुका साथै गोठमा भएका चौंरी गाईहरुलाई घाँस समेत हाल्न गाह्रो भएको स्थानीय तेन्ज्ङि लामाको भनाइ छ ।
मनास्लु क्षेत्रमा रहेका सुरक्षा निकाय, स्थानीय निकाय र पर्यटन व्यवसायीबिच सहयोगात्माक समन्वयमा पदमार्ग खुलाएर पदयात्रीको यात्रा सहज बनाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।