• १६ कात्तिक २०८२, आइतबार

मृत्युपछिको सम्मान

blog

साहित्यकार तथा कलाकार भनेका देशलाई नै चिनाउने व्यक्तित्व हुन् । कला तथा साहित्यका माध्यमबाट समाजमा भएका विकृति, विसङ्गति, कुप्रथाका बारेमा लेखेर त्यसलाई सुधारोन्मुख बनाउनु उनीहरूको ध्येय हो, जीवनको बृहत् उद्देश्य हो । कला तथा साहित्यको सेवामा लागेर सहज तरिकाले बाँच्न नसकेकाका लागि समाज र तथा राज्यले सनाथ र सहयोग गर्न सकेको छ त ? प्रश्न बाँकी छ ।  

नेपाली भाषा, कला तथा साहित्यलाई विश्वसाहित्यमा उपस्थित गराउन प्रयत्नरत केही साहित्यकारका केही मात्र कृति धेरैले पढ्ने अङ्ग्रेजी भाषामा अनुवाद भएका छन् । अङ्ग्रेजीभन्दा अलि बढी कृति हिन्दीमा अनुवाद भएका देखिन्छन् । आफ्नो सिङ्गो जीवन कलाकारिताको क्षेत्रमा बिताएकाको अवस्था पनि उस्तै छ ! कुनै बेला निकै अब्बल बनेका कलाकार तथा साहित्यकार गुमनाम भएरै बितिरहेका छन् । विडम्बना कुनै समयमा निकै लोकप्रियता हासिल गरेका कलाकार तथा साहित्यकारको नाममा न राज्यले सम्बोधन गरेको छ न उनीहरूको योगदानलाई सम्झने कुनै संस्था न त राज्यले तिनलाई सम्झेर मूल्याङ्कन गर्ने गर्छ । जीवनभर कला, भाषा र साहित्यमा सेवा गरेका त्यस्ता व्यक्तित्व कुनै दीर्घरोगको उपचार गर्न नसकेर निकै कठिन पल भोगिरहेका देखिन्छन् । विश्वसाहित्यमा समेत आफ्नो परिचय बनाउन पुगेका त्यस्ता व्यक्तित्वको त कसैले खोजखबरसमेत गरेका देखिँदैनन् । 

कलाकार होस् या साहित्यकारको सहज जीवनयापनको अवस्था नै छैन । अझ भन्ने हो भने नेपाली कला साहित्यमा मात्र लागेर सहज जीवन बाँच्न सक्ने अवस्था बनिसकेको छैन । जीवनभरको मेहनतमा कतै नाम मात्रका पुरस्कार हात लाग्छन् कतै सानो रकमको पुरस्कार प्राप्त हुन्छ मात्र । कुनै जटिल रोग लाग्दा उपचार गर्न आफूले पाएका सम्मान, पदक नै बिव्रmी गरेका समाचार आएका हुन्छन् । उपचार नपाएर मरेका अथवा उपचार गर्न नसकेर बाध्यतामा जीवन गुमाएकाको त अझ छुट्टै कथा छ, परिवारको निकै दयनीय व्यथा छ । सहज जीवन बाँच्नका लागि कुनै आम्दानीका स्रोतसम्म नभएकाको पनि मृत्युपछिको गुनगान निकै लोभलाग्दो देखिन्छ । यस्तो संवेदनशील विषयमा न त लेखक, कलाकार, साहित्यकारको साझा संस्था बोल्छ न त भाषा वाङ्मयका विकासमा खुलेका सरकारी निकायले । भाषा, कला तथा साहित्यका लागि खुलेका प्रतिष्ठानको झन् आआफ्नै कहानी छ । त्यहीँ काम गरेकाले उपचार पाउन सकेका देखिँदैनन् । नेपाली साहित्यमा देशभित्र वा देशबाहिर कति साहित्यकार, कलाकार छन् भनेर कसैले यकिनसाथ भन्न सकेका छैनन् । लाग्छ सबैका बारेमा राज्यसँग निश्चित आँकडा नै छैन । त्यसमाथि मोफसल वा प्रवासमा बसेर उनीहरूले नेपाली भाषा, कला साहित्यमा गरेको योगदानको चर्चा र पुरस्कारको पाएको अवस्था नगण्य मात्रा छ । कति साहित्यकारका उत्कृष्ट कृतिसमेत प्राप्य छैनन् । उनीहरूको योगदान के कस्तो छ भन्ने विषयमा न साहित्यका श्रीवृद्धिमा खुलेका संस्थाले खोज्छन् न लेखक सङ्घ वा सङ्गठनका आँखा पुगेका छन् । अझ बेला बेलामा हुने साहित्य सम्मेलन पनि स्टन्टका लागि मात्र गरिन्छन् । केवल क्षणिक वाहवाहीमा केही युवालाई जम्मा गरेर गरिने यस्ता साहित्य उत्सवको प्रभाव र कमीकमजोरीबारेमा कसैले चुक्कसमेत बोल्न हुँदैन । अग्रजलाई सम्मान गर्ने र उनीहरूलाई आदर गर्ने परम्परालाई पुरानो मानेर स्वघोषित वरिष्ठको उपाधि हासिल गर्न लालायित आजको पुस्ताले के ती अग्रजका कृति अध्ययन गरेका छन् त ? 

अर्को विडम्बना अहिलेको अवस्थामा विशिष्ट साहित्यकारका महत्वपूर्ण र नाम कमाएका कति कृतिहरू कहीँकतै पाइँदैन, यसको जवाफ कसले दिने ? अझ हास्यास्पद कुरा कला क्षेत्रमै काम गरिरहेका वर्तमान पुस्ताका कलाकारले अग्रजलाई नै चिन्दैनन् । टेलिभिजन कार्यक्रममै गलत नाम भनिरहेकै देखिन्छन् ।  

राष्ट्रका असल गहना जो येनकेन ती बाँचिरहँदा कसैले वास्ता गर्दैनन् तर मृत्युपछि तिनका गुनगान गाउन कोही पछि पर्दैन, जीवन नगुमाउँदै उनीहरूसँगको तस्बिर जोडेर श्रद्धाञ्जलीको ओइरो नै लाग्छ, त्यस्तो क्रियाकलापले परिवारप्रति के बित्ला कसैले विचार गरेको छ ? अझ मरेपछि त सम्मान र पुरस्कार पनि दिन पछि पर्दैनन् । गज्जबको कुरो के छ भने बिरामी भएर अस्पतालमा उपचार गरिरहेको अवस्थामा उनीहरूप्रति सरकारी निकाय उदासीन छ । सञ्चारकर्मी कहिलेकाहीँ परिवारसँग भलाकुसारी नै नगरी मृत घोषित गरिदिन्छन् र लाखौँ श्रद्धाञ्जली क्षणभरमै जम्मा भइदिन्छ । कथंकदाचित दूरदराजका लेखक वा साहित्यकार भेटे पनि केही आशा गरिहाल्लान भनेर पदमा पुगेकाहरूमा हामीले केही गर्न सक्दैनौँ, राज्य उदासीन छ भनेर सहजै पन्छाउन उद्दत भइदिन्छन् ।  पूरै जीवन नेपालमै बिताएका लोकप्रिय कलाकारले अन्त्यमा नेपाली नागरिकता नपाएको कुरा त धेरैलाई जानकारी नै छ । नेपाली भाषा, कला तथा साहित्यमा अतुलनीय योगदान पु¥याएका व्यक्तित्वका बारेमा चिरपरिचतभन्दा पनि लोकप्रियताका आधारमा कसैले टापनटिपन गरेर केही लेखेका भए पनि बृहत् रूपमा उनीहरूका बारेमा खोजमूलक लेख पाइँदैन । नेपाली कलासाहित्यको इतिहास नेपाल र नेपालबाहिर भारतमा नलेखिएको होइन तर ती पुस्तकमा सीमित कलाकार तथा साहित्यकार चर्चा परिचर्चा मात्र भएको पाइन्छ । अरू केही कलाकार, साहित्यकार पादटिप्पणी (फुटनोटमा मात्र सिमित छन्) मा पनि नअटाएकाको फेहरिस्त निकै लामो छ । सबै ती व्यक्तित्वको चर्चा नहुनुको मुख्य कारण हो सम्बन्धित निकायको उदासीनता र त्यी निकाय हाँक्ने व्यक्तिले यस विषयमा कुनै चासो नदिनु नै हो । विभिन्न तरिकाबाट नियुक्ति पाएर मात्र जागिरका लागि पुगेकाहरू समय कटाउने मात्र काम गर्छन् । 

भाषा, कला साहित्यमा अतुलनीय योगदान दिने साहित्यकारका बारेमा केही पुराना साहित्यिक पत्रिका जस्तै ः गरिमा, मधुपर्क, उदय, प्रभात, शारदा, भारती आदि नेपाल तथा प्रवासबाट छापिएका पत्रिकाका पाना पल्टाएर हेरे मात्रै थाहा हुन्छ । नेपाली कलासाहित्यलाई विश्वसाहित्यको स्तरमा उभ्याउन तथा सबै माझ लोकप्रिय बनाउन कति योगदान दिएका थिए । उनीहरू अहिले गुमनाम छन् इतिहासका पानामा । नेपालमा मात्र होइन भारतीय नेपाली कलासाहित्यमा पनि गुमनाम हुनेको सङ्ख्या बढ्दै गएको छ । भारतीय नेपाली कला, साहित्यको इतिहास निकै पुरानो भए पनि केही नाम चलेका व्यक्तित्वबाहेक अरूलाई बृहत् नेपाली कलासाहित्यका पाठकले समेत चिन्दैनन् । ती भारतीय नेपाली कलाकार तथा साहित्यकारको लेखरचना र कविता पछिल्लो समयमा प्रकाशन गरिने साझा प्रकाशन, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने पत्रिका, स्मारिका ः गरिमा, कविता, समकालीन साहित्य, समालोचना र कथा सङ्ग्रहमा कहीँ पाइँदैन अझ कतिका कृतिका नामसमेत थाहा नपाइएका ज्वलन्त उदाहरण नै छ । ईश्वर बराल, भैरव अर्याल, चूडामणि बन्धु, कृष्णचन्द्रसिंह प्रधानले सम्पादन गरेका झ्यालबाट, हिमालचुलि, साझा निबन्ध, साझा कथा, साझा कविता, साझा समालोचनामा भारतीय नेपाली कलाकार तथा साहित्यकारको लेखरचना र कविताले यथेष्ट स्थान पाउन सके पनि त्यसपछिका सङ्ग्रहमा उनीहरूको उपस्थिति शून्य नै देखिन्छ । यसरी नेपाली साहित्यबाट भारतीय नेपाली साहित्य किनाराकृत हुँदा सिङ्गो नेपाली साहित्य नै अधुरो भएको अनुभूति हुनु स्वाभाविक हो । कतिपय भारतीय साहित्यकार भारतबाट प्रकाशित हुने सङ्ग्रहमा अटाउन सकिरहेका छैनन् । 

नेपाली भाषा, कला र साहित्यमा योगदान दिने नेपाल तथा नेपालबाहिरका धेरै व्यक्तित्वको परिचय विस्मृत भइरहेको विषय निकै चिन्ताजनक छ, इतिहास नै नभेटिँदा भोलिका पुस्ताले कसरी सम्झेलान् ? कति साहित्यकार, कलाकारको नाम निसान तथा उनीहरूको कृति खोज्दासमेत कतै पाइँदैन । कति व्यक्तित्व बितिसकेका र दोस्रो पुस्तामा त्यसको कुनै विवरण सञ्चय नरहेकाले कतिका योगदानबारे केही थाहा पाइएको छैन । अथक प्रयास गर्दा केही व्यक्तिको सामान्य जानकारीसमेत पाइएको छैन । कुनै समय नाम चलेका साहित्यकार तथा कलाकार पनि अहिले ओझेलमा परिरहेका छन् । कुनैबेला राम्ररी चलेका पुस्तक तथा कलाकारिता, चित्रकलाको अभाव रहेको छ । उनीहरूको जीवनी कृतिहरू उपलब्ध भए आगामी दिनमा उनीहरूका बारेमा कसैले लेख्ने छ खोज्ने छन् भन्ने आस राख्न सकिन्छ । यसका लागि सम्बन्धित निकाय, संस्था, प्रबुद्ध पाठक, समालोचक तथा साहित्य अनुरागीहरूले प्रयत्न गर्ने छन् भन्ने विश्वास रहेको छ । कतिपय त्यस्ता व्यक्तित्वका मृत्युपछि आफ्ना सन्तान दरसन्तानले खोलेका प्रतिष्ठान, स्मृति केन्द्रले केहीलाई भने जीवितै राख्ने प्रयास गरेका भएता पनि ठुलो मात्रामा रहेका कलाकार, साहित्यकारका स्मृति दिवस, जयन्ती वा उनीहरूको सम्झनामा कुनै कार्यक्रम गरिएको पाइँदैन ।  

नेपालमा मात्रै हो कि ? यस्तो चलन । विडम्बना नै मान्नुपर्ने बाँचुन्जेल कसरी बाँचेका छन्, के समस्या छ भनेर कसैले नसोधे पनि मृत्युपछि योगदानको चर्चा गर्ने परम्परा कायमै छ, यो पुरानै हो । उनीहरूलाई बाँचुन्जेल उपचार तथा जीवनको सहजताका लागि सरसहयोग गर्नुपर्नेमा केही वास्ता नगर्ने अनि तिनलाई मृत्युपछि गुनगान गाउँदै पुरस्कार दिनुको कुनै अर्थ छैन कि ?