• १३ असोज २०८१, आइतबार

सिक्टाबाट सत्र हजार हेक्टरमा सिँचाइ

blog

सिराज खान 

नेपालगञ्ज, असार २० गते  । गत वर्षदेखि नै सिक्टाको मूल नहरमा पानी छोडिँदा कोहलपुर–६, रझेनाका मलिराम थारूलाई खेतीमा पानीको कुनै समस्या भोग्नुपरेको छैन । आफ्नो खेतको छेउमा नै मूल नहर बगेकाले आवश्यक पानी तानेर बाह्रै महिना खेती गरिरहेको उहाँले बताउनुभयो । यसअघि आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै थारूले अब त जतिबेला जुन खेती मन लाग्यो, त्यो गर्न सकिने बताउनुभयो । 

दुई साताअघिदेखि नै कोहलपुर–१५ का खड्कबहादुर खड्काले मज्जाले रोपाइँ गरिरहनुभएको छ । पानी नपरे पनि उहाँलाई विगतको जस्तो समस्या छैन । खेतको छेउबाटै सिक्टाको नहर बगेकाले समयमै रोपाइँ गरिएको बताउनुभयो । थारू र खड्का मात्र नभई सिक्टाको पश्चिमी मूल नहरको ४५ किलोमिटर र पूर्वी नहर राजकुलोको १२ किलोमिटर वरिपरिका किसानले सिँचाइ सुविधा प्रयोग गरिरहेका छन् । यसले गर्दा अहिले बाँकेका किसानलाई आकाशे पानीकै भर परेर खेती गर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ । 

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहर र पूर्वी नहरको केही क्षेत्रमा पानी दिएपछि अहिले सो नहरकै कारण १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजना नेपालगञ्जका निर्देशक डा. सन्तोष कैनीले जानकारी दिनुभयो । उहाँले आयोजनाको नहरमा पानी छोडिएपछि बाँके जिल्लाको १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र ती क्षेत्रमा केही समयअघिदेखि नै धमाधम रोपाइँ भइरहेको बताउनुभयो । अहिले यस क्षेत्रका अधिकांश किसानले वर्षा नकुरेर नै खेती गरिरहेको आयोजनाले जनाएको छ । अहिले सिक्टाको नहरमा १० क्युबेक पानी छोडिएको छ । 

“नहर र शाखा नहर वरिपरिका किसानले सिक्टाको पानी अहिले पम्प गरी खेतसम्म पु-याएका छन् । जसले गर्दा नहर पुगेको ठाउँका किसानलाई खेतीका लागि पानीको कुनै पनि समस्या छैन,” प्रमुख डा. कैनीले भन्नुभयो ।  सो आयोजनाको निर्माण कार्य आव २०६३/६४ देखि सुरु भएको थियोे । बाँकेको अगैयामा राप्ती नदीमा बाँध निर्माण गरी बनाइएको सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्य रहेको छ ।