नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक १४ गते । नेपालको एक सय पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत बागलुङको पञ्चकोट जाने छोटो सडक कालोपत्र गर्न थालिएको छ । ट्रयाक खुलेको २२ वर्षपछि सडक धमाधम कालोपत्र भइरहेको छ ।
पाँच कोटको सङ्गम स्थललाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास भएपछि त्यहाँ पुग्ने सडकलाई पक्की बनाउन थालिएको छ ।
सङ्घीय सरकार र बागलुङ नगरपालिकाको समपुरक अनुदानमा मुक्तिनाथ बाबा परिक्रमा सडक २०८१ असारदेखि स्तरोन्नति थालिएका थियो । अहिले उक्त सडकमा धमाधम कालोपत्र थालिएको हो ।
मुक्तिनाथ बाबा कमल नयनाचार्यको सङ्कल्पमा निर्माण भएको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट पुग्ने सडकको करिब चार किमि सडक कालोपत्र थालिएको हो । २०६० सालमा ट्रयाक खोलिएको उक्त सडक २२ वर्षपछि कालोपत्र थालिएको हो ।
आठ करोड ६७ लाख ३६ हजारमा बागलुङ नगरपालिका–६ स्थित वडा कार्यालयदेखि भिरलाखुरी हुँदै पञ्चकोट पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । अहिले प्रिमिक्स प्रविधिद्वारा कालोपत्रको काम थालिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो । पञ्चकोट पुग्ने छोटो र स्तरीय सडकको रुपमा लिइएको उक्त सडकले धार्मिक पर्यटकलाई सहज बनाउने छ । झण्डै चार किमि लम्बाइ र ५.५ मिटर चौडाइ सडक कालोपत्र गरिएको छ ।
१० करोड लागतको डिपिआर निर्माण गरी सङ्घीय सरकारको समपुरकमा बजेट माग गरेको मा अहिले सङ्घीय सरकार र स्थानीय बागलुङ नगरपालिकाको ५०/५० प्रतिशत लगानीमा उक्त सडक निर्माण भइरहेको हो । २०८१ असारमा जुम्ली आरएस जेभीसँग ८ करोड ६७ लाखमा २०८२ माघ मसान्तसम्म कालोपत्र गर्नेगरी सम्झौता भएको थियो । सम्झौताभित्रै काम सक्नेगरी निर्माण व्यवसायीले धमाधम काम गरिरहेको छ । अहिले उक्त सडकको ७६ प्रतिशत भौतिक तथा ७२ प्रतिशत आर्थिक प्रगति भएको इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा पुग्ने भारतीय तथा आन्तरिक पर्यटकलाई सडकले सहज बनाउने वडा अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले पञ्चकोट पुग्ने मुक्तिनाथ बाबा सडक परिक्रमाले २ किमि सडक छोटो हुने बताउनुभयो । मुक्तिनाथ बाबाको परिकल्पनामा निर्माण भएको पञ्चकोटलाई दुईवटा सडकले परिक्रमा गराउने उद्देश्यले उक्त सडक स्तरोन्नति गरिएको बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                