महेन्द्रनगर, कात्तिक १४ गते । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा नौ अर्ब लगानी भइसकेको छ ।
बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले आयोजनाको प्रगति कछुवा गतिमा भएको हो । “मुआब्जामा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र समयमा वन क्षेत्रको व्यवस्थापन नहुँदा आयोजनाको प्रगति सुस्त भएको हो”, आयोजनाका सिनियर डिभिजिन इन्जिनियर राजेशभक्त पोखरेलले भन्नुभयो ।
इन्जिनियर पोखरेलका अनुसार निर्माण कम्पनीसँग रु. एक अर्ब ९७ करोडको सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा जारी छ । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर निर्माण भइसकेको छ ।
महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । आगामी २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ । रासस
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                