जीवछ यादव 
लहान, कातिक १४ गते । लहान नगरपालिका ३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालमा सेवा सुविधा र निरन्तर निगरानी हुनथालेपछि बिरामीको सङ्ख्या बढेको हो । विराटनगर र धरान जाने बिरामीहरुको उपचार यहीँ हुन थालेपछि बिरामीहरुमा भरोसा जागेकाे छ ।
प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि आधुनिक ल्याब, डाइलोसिस सेवा र विभिन्न विभागका चिकित्सक र कुशल मेडिकल सुपरिटेन्डेन्टकाे सक्रियताले अस्पतालमा दिनहुँ तीन सयभन्दा बढी बिरामीको जाँच हुन थालेको छ । पन्ध्र शय्याको अस्पतालमा सय शय्याको उपचार हुन थालेपछि अस्पतालमा बिरामीको चाप बढ्नु स्वाभाविक भए पनि अस्पतालको जग्गा रजिष्ट्रेशन नभएकाले भौतिक निर्माणका कार्यहरु अघि बढ्न नसकेको मेसु रञ्जितकुमार झाले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर मिनाहाको लागि सङ्घीय सरकार अर्थ मन्त्रालयमा सिरफरिस गरिए पनि मिनाहाको निर्णय नहुँदा एक वर्षदेखि रजिष्ट्रेशनको प्रक्रिया अघि बढ्न सकेको छैन ।
२०३७ सालमा अस्पताल निर्माण गरिदिएका लहानका दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाको परिवारले एक बिघा पन्ध्र कठा जग्गा रजिष्ट्रेशनका लागि दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका तयार भए पनि लाभकर एक करोड ३५ लाख लाग्ने भएपछि सो लाभकर मिनाहाका लागि पहल भइरहेका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘मधेश प्रदेश सरकारबाट मिनाहाका लागि पहल गर्याैं । अहिले सङ्घ सरकारमा गएर अड्केको छ । यसका लागि सर्वदलीय पहल आवश्यक छ ।’’
सिराहा सप्तरी र उदयपुर जिल्लाका लागि समेत स्वास्थ्य सेवा दिइरहेका यस अस्पतालको स्तरोन्नति हुनुपर्ने आवाज उठ्न थालेपछि जग्गा रजिष्ट्रेशनका लागि स्थानीयहरुले माग गरेपछि दाता परिवार जग्गा रजिष्ट्रेशन गर्न तयार हुनुको साथै अझै लगानी गर्नुपरे तयार रहेका दाता परिवारका मुरारीलाल मुरारकाले बताउनुभयो । जग्गा रजिष्ट्रेशनमा निकै समय लागेपछि अन्य थप सहयोग चाहेर पनि गर्न नसकेको उहाँले गुनासो पोख्नुभयो ।
अस्पतालको जग्गा रजिष्ट्रेशन थप सेवा प्रवाह गर्न आवश्यक सहयोग र पहलको लागि प्रदेश सरकार सङ्घ सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने गृहकार्यमा लाग्ने अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताले जानकारी दिनुभयो । ‘‘जीर्ण भवन निर्माण थप नयाँ भवननिर्माण, चिकित्सकको जीर्ण आवास भवन सिटि स्क्यान सञ्चालन लगायतका कार्यहरु अघि बढाउन जग्गा रजिष्ट्रेशन आवश्यक छ,’’ उहाँले भन्नुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                