टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक ८ गते । दसैँ र तिहारका लागि गाउँ आएकाहरु गन्तव्यमा फर्किन थालेका छन् । अध्ययनका लागि स्वदेशका विभिन्न सहरबाट गाउँ आएकाहरु एक महिनाको बिदा सकिएपछि फर्किन थालेका हुन् ।
छठपछि विद्यालय र क्याम्पसहरु सञ्चालन हुने भएकाले विद्यार्थीहरुका कारण अभिभावकहरु पनि फर्किन थालेका हुन् । त्यस्तै व्यापार व्यावसाय, जिजी कम्पनीहरुमा जागिर गर्ने, सेना प्रहरी र परदेश फर्किहाल्ने टिकट भएकाहरुको बसपार्कहरुमा घुइँचो सुरु भएको छ ।
यातयात प्रालिहरुमा टिकट सहज नहुँदा नागरिकहरु कोचिएर र असहज यात्रा गर्न बाध्य छन् । मदाने गाउँपालिका–४ का रविन थापाले धेरै पहिलेबाटै टिकटहरु बुकिङ्ग भएकाले रिर्जबको नाममा धेरै रकम माग्ने समस्यामा आफुहरु परेको गुनासो गर्नुभयो । उहाँ छोराछोरीहरुसहित गाउँबाट पनि निकै अप्ठ्यारो गरेर सदरमुकाम आएपछि काठमाडौँ जान पनि निकै मुस्किल परेको बताउनुभयो । दसैँमा नारायणगढ–मुग्लिङ्ग सडकले धेरै नागरिकले सास्ती पाए । अहिले सडकको समस्या छैन । तर दसैँतिहार मनाएर एकै चोटी फर्किनेहरुले यातयातका साधन प्याक छन् ।
गुल्मीमा पश्चिम नेपाल बस व्यवसायी प्रालि, गुल्मी यातयात प्रालि, रेसुङ्गा, रुरुरेसुङ्गा, मैत्री, आँगन र चन्द्रकोट यातयात प्रालि लगायतका यातयात व्यावसाय छन् । सातामा एकपटक रेसुङ्गा विमानस्थलबाट जहाड उडान भइरहेको छ ।
गुल्मेली नागरिकको यात्रा सहजताका लागि जिल्लामा करिव चार सय सार्वजनिक सवारी साधन छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार सकैभन्दा धेरै गुल्मी यातयात प्रालिका ३५० सवारी साधन छन् । ती मध्ये २८० अहिले रुटमा सञ्चालन भइरहेका छन् । अरु बेलाभन्दा बुटवलका लागि मात्रै १५ सवारी साधन थपेर ६९ वटा सञ्चालन गरेको गुल्मी यातयात प्रालिले जनाएको छ ।
त्यस्तै, रुरु–रेसुङ्गा यातयात प्रालिका ३१, मैत्री यातयात प्रालिका २३, पश्चिम नेपाल यातयात प्रालिका २४, रेसुङ्गा यातयात प्रालिका आठ र आँगन यातयात प्रालिका १९ सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान बहादुर कुँबरले जानकारी दिनुभयो । गुल्मीका गाउँहरुबाट बुटवलसम्मनै गाडीहरु पुग्ने गरेका छन् । तर काठमाडौँबाट प्रयाप्त बस छैनन् ।
यात्रुहरुको समस्यालाई समाधान गर्न जिल्लाका १२ भन्दा बढि गाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहरदेखि गाउँसम्मको यात्रा सुरक्षित बनाउन जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वयमा पर्व केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । दसैँतिहारमा घर आउने र गन्तव्यमा फर्किने यात्रुहरुको चाँप बढि हुने भएकाले जिल्लाको मुख्य प्रवेशद्धार रिडी, देउराली, तम्घास बसपार्क, उदिनढुङा, पुर्कोट, शान्तिपुर र वामी बजारमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।