राममणि दाहाल
मकवानपुर, कात्तिक २ गते । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुनका लागि घोषित निर्वाचनको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि शान्ति सुरक्षालगायतको सुनिश्चितता आवश्यकभएको भन्दै निर्वाचनबाट कांग्रेस नभाग्ने बताउनुभएको हो ।
मुख्यमन्त्री बानियाँले आफूले पाउने सेवा सुविधाबाट मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा निर्माण गर्नुभएको घर स्थानीय एकल महिला मिठुमायाँ सुनारलाई हस्तान्तरण गर्न आइतबार आयोजित कार्यक्रममा बोल्दै निर्वाचनको पहिलो शर्त सुदृढ शान्ति सुरक्षाको व्यवस्था भएको बताउनुभयो । समाजमा नागरिकलाई शान्ति सुरक्षाप्रति आश्वस्त गर्नु आवश्यक भएको भन्दै गत भदौमा भएको जेनजी आन्दोलनपछि नागरिकमा त्रासको वातावरण रहेकोले सरकारले शान्ति सुरक्षाको वातावरण निर्माण गर्नु पर्ने उहाँको भनाइ छ ।
सुरक्षाकर्मीको हतियार लुटिएको छ, कैदीबन्दी कारागारबाट फरार भएका छन्, नागरिकमा असुरक्षाको अवस्था छ, कांग्रेस सभापति बानियाँले भन्नुभयो, कांग्रेस लोकतान्त्रिक पार्टी हो तर निर्वाचनमा भाग लिन न्यूनतम वातावरण निर्माण गर्नु सरकारको पनि दायित्व हो ।
उहाँले भन्नुभयो, "निर्वाचन आवश्यक छ, निर्वाचनबाट पछाडि हट्दैनौ, तर निर्वाचनमा जाने वातावरण निर्माण आवश्यक छ, मतादाताले निर्धक्कसँग मतदानमा सहभागी हुने, दलहरूले प्रचार प्रसारलगायतका गतिविधि गर्ने वातावरण निर्माण गर्न शान्ति सुरक्षा सुदृढ हुनु आवश्यक छ ।"
मुख्यमन्त्री बानियाँले बिपी कोइरालाको विचार र सिद्धान्त अनुसरण गर्दै हिडेको कांग्रेसको प्राथमिकतामा समतामूलक समाज भएको भन्दै कांग्रेसले गरिबमुखी, न्यायमुखी र आयमुखी भएर काम गर्दै आएको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका विभिन्न जिल्लामा विपन्न समुदायलाई लक्षित गरी भवन निर्माण गरेर हस्तान्तरण गर्ने योजना प्रदेश सरकारले बनाएको सुनाउनुभयो । मुख्यमन्त्री बानियाँले आफूले पाउने सेवा सुविधा र व्यक्ति खर्चसमेत गरी चार लाख ६५ हजार रुपियाँको लागतमा भवन निर्माण गरी हस्तान्तरण गर्नुभएको हो ।
भवन हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले प्रदेश सरकारले विपन्न समुदायलाई प्राथमिकतामा राख्दै योजना र कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, वडा नं. ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौला र लाभग्राही मिठुमायाँ सुनारले विपन्न समुदायलाई भवन निर्माणसँगै आयआर्जनका लागि कार्यक्रम विपन्न समुदाय लक्षित कार्यक्रम आवश्यक भएको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रको राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका आफूले पाउने सेवा सुविधाबाट विपन्न समुदायलाई लक्षित गरी भवन निर्माण भइरहेको बताउनुभयाे ।