• २ कात्तिक २०८२, आइतबार

थपिँदै छन् नयाँ मतदाता

blog

डडेलधुराको जिल्ला निर्वाचन कार्यालय । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, कात्तिक २ गते । आगामी फागुन २१ गतेका लागि तोकिएका निर्वाचनका लागि मतदाता सङ्ख्या थपिँदैछन् । निर्वाचन कार्यालयले गरिरहेको मतदाता नामावली सङ्कलनमा जेनजी उमेर समूहका युवा बढी रहेको पाइएको छ । २०७९ को निर्वाचनसम्म डडेलधुरा जिल्लामा ९४ हजार ३१४ मतदाता थिए । जिल्ला निर्वाचन कार्यालय डडेलधुराका कार्यालय प्रमुख करुणाकर अवस्थीका अनुसार हाल सङ्कलन भइरहेको मतदाता नामावली सङ्कलनमा दैनिक मतदाताको सङ्ख्या थपिँदै गइरहेका छन् । 

उहाँका अनुसार शुक्रबार कार्यालय समयभित्र १२९ जना नयाँ मतदाताहरूले नाम दर्ता गराउनुभएको छ । यो सङ्ख्यामध्ये जेनजी उमेर समूह करिब ९० प्रतिशत भएको उहाँले बताउनुभयो । नयाँ नागरिकता बनाउनेको सङ्ख्या धेरै र केही छुटेका मतदाताहरू नाम दर्ताका लागि कार्यालय पुग्ने गरेको उहाँले बताउनुभयो । हालसम्म नाम दर्ता गराउनु भएका मतदातामध्ये पुरुष ८६ र महिला ४३ रहनुभएको छ । अरू जिल्लाभन्दा कम जनसङ्ख्या हुनु र अधिकांश युवा विदेशतिर रहेकाले मतदाता नामावली सङ्कलनमा चाप कम देखिएको उहाँले बताउनुभयो । 

२०७४ को निर्वाचनमा डडेलधुराको मतदाताको सङ्ख्या ८८ हजार ४५ थियो । सो कार्यालयका कम्प्युटर अपरेटर भवानीदत्त भट्टका अनुसार २०७८ सम्म छ हजार २६९ मतदाता थप भएर डडेलधुराको कुल मतदाता सङ्ख्या ९४ हजार ३१४ पुगेको थियो । यस वर्षको चुनावमा उथलपुथल नै हुने गरेर मतदाता नथपिने अनुमान गर्न सकिने उहाँले बताउनुभयो । प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार डडेलधुराको कुल जनसङ्ख्या एक लाख ३९ हजार ४२० रहेको छ । बाजुरा समाचारदाताका अनुसार बाजुरामा नयाँ मतदाता नामावली बनाउनेको सङ्ख्या वृद्धि भएको छ । 

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले नयाँ मतदाता नावली बनाउन सहज गरेसँगै यहाँका युवायुवती धमाधम आफ्नो मतदाता नामावली बनाउन जिल्ला निर्वाचन कार्यालय मार्तडी पुग्ने गरेका हुन् । नामावली बनाउन छुटेका र अहिले बल्ल १८ वर्ष उमेर पुगेकाले निर्वाचन कार्यालय मार्तडीमा आफ्नो मतदाता नामावली बनाउने गरेका छन् । असोज १० गतेदखि अहिलेसम्म यहाँ ८४ महिला र १२७  पुरुष गरेर २११ जनाले नयाँ मतदाता नामावली बनाएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्ग महतले बताउनुभयो । बाजुरामा २०८२ भदौसम्म ४१ हजार ९२० महिला, ४४ हजार ५३५ पुरुष र तीन जना अन्य गरेर ८६ हजार ५७५ जना मतादाता रहेको महतले बताउनुभयो ।